लगातार दोस्रो दिन नेप्सेमा वृद्धि, सबै उपसमूह हरिया

काठमाडौं । सेयर कारोबार मापक नेप्से परिसूचक शुक्रबार २७.४९ अंकले वृद्धि भएको छ । एक दशमलव शून्य प्रतिशतको वृद्धिसँगै समग्र नेप्से परिसूचक २ हजार ७ सय ४५ दशमलव ६५ विन्दुमा उक्लिएको हो ।
यसअघि बिहीबार नेप्से ६.९४ अंकले बढेको थियो । तर, सो दिन कारोबार रकम २ अर्ब ९३ करोड रुपैयाँमा सीमित भएको थियो, जुन ६ महिनायताकै न्यून हो । यसअघि ९ कात्तिक २०८२ मा २ अर्ब ६६ करोड १३ लाख रुपैयाँको कारोबार भएको थियो ।
शुक्रबार भने बजार खुलेका कम्पनीमध्ये २ सय ३५ कम्पनीको सेयर मूल्य बढ्यो, २६ कम्पनीको घट्यो भने ८ कम्पनीको मूल्य स्थिर रह्यो । कुल ५३ हजार १५ पटकको कारोबारमा ३ अर्ब २८ करोड ६८ लाख ७० हजार रुपैयाँको सेयर किनबेच भएको छ । सो क्रममा ७४ लाख ७८ हजार ५ सय ६२ कित्ता सेयर कारोबार भए ।
यो साताको कारोबार रकम हेर्दा सोमबार ४ अर्ब २६ करोड, मंगलबार ३ अर्ब ४३ करोड, बुधबार ३ अर्ब १९ करोड, बिहीबार २ अर्ब ९३ करोड र शुक्रबार ३ अर्ब २८ करोड रुपैयाँ रहेको छ । ठूला लगानीकर्ता ‘पर्ख र हेर’ को अवस्थामा रहँदा बजार घटेको र त्यसले साना लगानीकर्ता पनि लगानी नबढाई बसेको स्टक ब्रोकर्स एसोसिएसनका पूर्वअध्यक्ष भरत रानाभाटले बताए । धितोपत्र कारोबार सञ्चालनसम्बन्धी विनियमावलीअनुसार कम्तीमा २५ प्रतिशत रकम लिएर मात्र सेयर खरिद आदेश लिनुपर्ने व्यवस्था कडाइका साथ लागु गर्न भनिएकाले पनि कारोबार घटेको उनको भनाइ छ ।
शुक्रबार बैंकिङ, विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत्, जीवन बिमा, लघुवित्तलगायत सबै उपसमूहको मूल्य बढ्यो भने व्यापार उपसमूहको मूल्य स्थिर रह्यो । सर्वाधिक कमाउनेमा त्रिशूली जलविद्युत् कम्पनीको १०, होटल फरेस्ट इनको ७.९०, सूर्यकुण्ड हाइड्रोइलेक्ट्रिकको ६.१२, एनआईसी एसिया ब्यालेन्स फन्डको ५.७४ र पियोर इनर्जीको ५.३४ प्रतिशत रहे ।
सर्वाधिक गुमाउनेमा स्वावलम्बन लघुवित्तको ६.५४, ग्लोबल आईएमई समुन्नत योजना–२ को २.६२, फर्वार्ड लघुवित्तको २.४७, हिमालयन ८०–२० को २.३२ र आरबीबी फोकस ४० को २.३० प्रतिशत रहे । सरकारले सेयरमा लगानी गरेको स्रोत खोज्न लागेपछि लगानीकर्तामा त्रास फैलिएको वित्तीय विश्लेषक मुक्ति अर्यालले बताए । आफ्नै आम्दानीबाट लगानी गर्नेहरूलाई अब सरकारले नै आश्वस्त पार्नुपर्ने उनको भनाइ छ ।
कारोबार रकमका आधारमा होटल फरेस्ट इन, रिलायन्स स्पिनिङ मिल्स, सोलु हाइड्रोपावर, ङादी ग्रुप पावर र रिडी पावर कम्पनी अग्रस्थानमा रहे । होटल फरेस्ट इनको १३ करोड ८६ लाख, रिलायन्स स्पिनिङ मिल्सको १३ करोड ६४ लाख, सोलु हाइड्रोपावरको १२ करोड ३ लाख, ङादी ग्रुप पावरको ११ करोड ६३ लाख र रिडी पावर कम्पनीको १० करोड १५ लाख रुपैयाँको कारोबार भएको छ ।
नेप्से बढेसँगै सेयर बजारको आकार अर्थात् कुल बजार पुँजीकरण ४६ अर्ब ८९ करोड ७८ लाख रुपैयाँले बढेको छ । बिहीबार ४६ खर्ब ३५ अर्ब ९६ करोड २१ लाख रुपैयाँ रहेको कुल बजार पुँजीकरण शुक्रबार ४६ खर्ब ८२ अर्ब ८६ करोड रुपैयाँ कायम भएको छ ।





