२६ बैशाख २०८३, शनिबार

शिक्षक परीक्षामा फेल भएको झोकमा प्रधानाध्यापकमाथि दुर्व्यवहार, एकै परिवारका चार पक्राउ

बैतडी । विद्यालय शिक्षकको परीक्षामा फेल भएको रिसमा प्रधानाध्यापकमाथि दुर्व्यवहार गरेको आरोपमा शिवनाथ गाउँपालिका–४ खडिकबाट एकै परिवारका चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

शिवनाथ–४ स्थित पिपलकोट माध्यमिक विद्यालय लोजनीका प्रधानाध्यापक दामोदर ओझामाथि बिहीबार दिउँसो एक महिलामाथि दुर्व्यवहार गरेको आरोप लगाउँदै आफन्तहरूले अमानवीय व्यवहार गरेका थिए । सोही घटनामा शुक्रबार ३७ वर्षीया तारा महता, उनका श्रीमान् ४२ वर्षीय प्रेम महता, ४२ वर्षीय मोहन महता र ३४ वर्षीया सकुन्तला महतालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बल्देव बडूले जानकारी दिए । चारै जनालाई पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको उनले बताए ।

पिपलकोट माविमा प्राथमिक तहको शिक्षक भर्नाका लागि गत चैत २६ मा विद्यालयले आवेदन आह्वान गरेकोमा १७ जनाले आवेदन दिएका थिए । वैशाख १३ मा गाउँपालिका केन्द्र सुल्लेखानमा भएको परीक्षामा तारासहित १४ जना सहभागी थिइन् तर तारा अनुत्तीर्ण भइन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भरतसिंह साउँदका अनुसार परीक्षाअघि ताराका श्रीमान्ले श्रीमतीलाई उत्तीर्ण गराइदिए विद्यालयलाई दुई लाख आर्थिक सहयोग र परीक्षा खर्च ५० हजार बेहोरिदिने भनी तेस्रो पक्षमार्फत प्रस्ताव पठाएको थियो । ‘आफूले यस्तोमा कसैको सहयोग चाहिँदैन भनेर परीक्षा निष्पक्ष गराएको हुँ,’ साउँदले भने ।

महिलामाथि दुर्व्यवहार गरेको भन्दै बिहीबार ताराका आफन्त विद्यालय आएपछि व्यवस्थापन समितिले दुवै पक्षबीच छलफल गराएको थियो । आरोप लगाउने पक्षले प्रधानाध्यापकले राजीनामा दिनुपर्ने र सार्वजनिक रूपमा माफी माग्नुपर्ने सर्त राखेको र सोहीअनुसार प्रधानाध्यापक ओझाले स्वीकार गरेको अध्यक्ष साउँदले बताए । तर, विद्यालयको गेटबाहिर पुर्याएर माफी माग्नुपर्ने भन्दै आरोपित पक्षले प्रधानाध्यापकलाई बाहिर लगेर दुर्व्यवहार गरेको उनको भनाइ छ ।

प्रधानाध्यापक ओझाले भने पेपरको मोडल बताइदिने भनी विदाको दिन विद्यालयमा बोलाएर श्रीमतीमाथि दुर्व्यवहार गरेको ताराका श्रीमान् प्रेम महताको आरोप अस्वीकार गर्दै परीक्षामा अनुत्तीर्ण भएको रिसले आफूमाथि आरोप लगाइएको दाबी गरे । ‘माफी मागेर घर जान लाग्दा गेट बाहिर पुग्नेबित्तिकै उनीहरूले मलाई एक–दुई झापड लगाएर अमानवीय व्यवहार गरे,’ ओझाले भने, ‘व्यवस्थापन समिति अध्यक्ष साउँदले मात्र बचाउनुभएको हो ।’ प्रधानाध्यापक ओझामाथि दुर्व्यवहार भएको सामाजिक सञ्जालबाट बाहिरिएपछि प्रहरीले घटनामा चासो देखाएको थियो ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button