कानून दोषीका लागि भय र निर्दोषको सहारा बन्नुपर्छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले कानून दोषीका लागि भय र निर्दोषको सहारा बन्नुपर्ने धारणा राखेका छन् । कानुन दिवसका अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले विधिद्वारा स्थापित पद्धति र परम्पराको पालना तथा कार्यान्वयनमा जोड दिए । त्यसो नभए समाजमा भय उत्पन्न हुने उनको भनाइ छ ।
राष्ट्रपति पौडेलले नेपालको संविधानले सङ्घीय लोकतान्त्रिक गणतन्त्र, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार तथा स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका एवं कानूनी राज्यको अवधारणालगायतका लोकतान्त्रिक मूल्य मान्यताप्रति प्रतिबद्ध प्रणालीको व्यवस्था गरेको उल्लेख गरे ।
साथै उनले संविधानको मर्म एवं वर्तमान आवश्यकताअनुरूप नयाँ कानूनको निर्माण र प्रचलित कानूनमा समसामयिक सुधार गर्नुपर्नेमा जोड दिए । आधुनिक पद्धति र प्रविधिसमेतको प्रयोगबाट आम नागरिकको न्यायमा सहज पहुँच स्थापित गर्ने र मुद्दाको शीघ्र व्यवस्थापनमार्फत छिटोछरितो न्याय सम्पादन गर्नुपर्ने उनले बताए ।
कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादव, कायममुकाय प्रधानन्यायाधीश सपना प्रधान मल्ल, सभामुख डोलप्रसाद अर्याल, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाललगायत उच्चपदस्थ अधिकारीहरूको सहभागिता रहेको थियो ।





