२६ बैशाख २०८३, शनिबार

कुल ऊर्जा जडित क्षमता ४ हजार २९६ मेगावाट पुग्यो, वर्षको अन्त्यसम्ममा साढे ४ हजार नाघ्ने

काठमाडौं । मुलुकको कुल ऊर्जा जडित क्षमता चार हजार २९६ मेगावाट पुगेको छ । नेपाल विद्युत् प्राधिकरण र निजी क्षेत्रका ऊर्जा उत्पादकहरूबाट उत्पादित विद्युत्का आधारमा उक्त क्षमता निर्धारण भएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ । परीक्षणमा रहेका आयोजना र वैकल्पिक ऊर्जाको स्रोतबाट उत्पादितबाहेक सो क्षमता निर्धारण भएको हो ।

चालु आर्थिक वर्षको अन्त्यसम्म कुल जडित क्षमता चार हजार ५०० मेगावाटभन्दा माथि पुग्ने मन्त्रालयले प्रक्षेपण गरेको छ । हाल निर्माणको क्रममा तीन हजार मेगावाट क्षमताका आयोजना छन् भने निर्माणमा जान तयारी अवस्थामा रहेका आयोजनाको क्षमता पनि सोही बराबर रहेको मन्त्रालयले जनाएको छ ।

प्रसारण लाइनतर्फ हालसम्म ६६ केभीभन्दा माथिका करिब सात हजार ३६० सर्किट किलोमिटर प्रसारण लाइन निर्माण सम्पन्न भएको छ । यस्तै १४ हजार तीन सय २३ एमभिए क्षमताको सबस्टेसन निर्माण भएको छ भने ३३ केभी क्षमताका करिब आठ हजार २२५ सर्किट किलोमिटर प्रसारण लाइन तथा तीन हजार ३०८ एमभिए क्षमताको सबस्टेसन निर्माण सम्पन्न भएको मन्त्रालयले उल्लेख गरेको छ ।

सरकारको पहल र नेपाल विद्युत् प्राधिकरणले सञ्चालन गरेको विशेष अभियानका कारण देशभरको विद्युत् चुहावट १२ दशमलव पाँच प्रतिशतमा सीमित भएको प्राधिकरणले जनाएको छ । सबस्टेसनको क्षमता विस्तार, प्रसारण लाइनको स्तरोन्नति तथा प्राविधिक उपाय अवलम्बन गर्दै प्राविधिक चुहावट क्रमशः घटाउँदै लैजाने लक्ष्य राखिएको मन्त्रालयले स्पष्ट पारेको छ ।

यसैगरी प्रतिव्यक्ति विद्युत् खपत ४५० किलोवाट घण्टा पुगेको छ । राष्ट्रिय विद्युत् प्रणाली र वैकल्पिक ऊर्जाको स्रोतबाट विद्युत्मा पहुँच प्राप्त जनसङ्ख्या ९९ प्रतिशत पुगेको छ । हालसम्म विद्युत् निर्यात दुई हजार ९१८ गिगावाट घण्टा रहेको छ भने आयात करिब ५९० गिगावाट घण्टा भएको छ । सौर्य विद्यु्तर्फ उत्पादन क्षमता ६२ दशमलव सात मेगावाट र लघु तथा साना जलविद्युत् आयोजनाबाट ५५ दशमलव तीन मेगावाट विद्युत् उत्पादन भएको छ ।

सिँचाइतर्फ हालसम्म १५ लाख ८७ हजार ९१० हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको मन्त्रालयले जनाएको छ । सिँचाइयोग्य जमिनमध्ये पाँच लाख ३२ हजार ९० हेक्टरमा भने वर्षभरि नै सिँचाइ सुविधा उपलब्ध रहेको मन्त्रालयको विवरणमा उल्लेख छ ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button