२६ बैशाख २०८३, शनिबार

न्यायपालिका विधिको शासनप्रति निरन्तर प्रतिबद्ध : कायममुकाय प्रधानन्यायाधीश मल्ल

काठमाडौं । सर्वोच्च अदालतका कायममुकाय प्रधानन्यायाधीश सपना प्रधान मल्लले संवैधानिक सर्वोच्चता, स्वतन्त्र तथा निष्पक्ष न्यायपालिकाको मान्यता, नागरिकका हकअधिकारको संरक्षण तथा विधिको शासनको कार्यान्वयनप्रति न्यायपालिका निरन्तर प्रतिबद्ध रहेको बताएकी छन् ।

आज ७४औं कानुन दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले वर्तमान परिस्थितिमा अलिकति पनि विचलित नभई संविधानले परिकल्पना गरेको संवैधानिक सर्वोच्चता, विधिको शासन, मौलिक अधिकार तथा मानव अधिकारको पूर्ण प्रत्याभूत गरी न्यायपूर्ण समाज स्थापना गर्न कानुन दिवसले सबैमा सकारात्मक सोच र भावना प्रदान गर्न सकोस् भन्ने कामना व्यक्त गरिन् ।

उनले न्यायपालिकामा गरिने सुधारको विषय न्यायपालिकाको एकाङ्की विषय नभई राज्यका समस्त अङ्गहरूको साझा दायित्व भएको उल्लेख गर्दै यसको निर्वाहमा सबैको एकजुट एवं समन्वयित प्रयास अपरिहार्य भएको बताइन् । ‘न्यायपालिकाले रणनीतिक योजनामार्फत चालेका सुधारका कार्यमा न्यायाधीश, सरकारी वकिल तथा कानुन व्यवसायी, कर्मचारीलगायत सरोकारवालाको सकारात्मक सहयोग प्राप्त हुने अपेक्षा गरिएको छ,’ सन्देशमा भनिएको छ ।

न्यायपालिकाले विसं २०६१ सालदेखि रणनीतिक योजना तर्जुमा गरी क्रमिक रूपमा कार्यान्वयन गर्दै आएको उल्लेख गर्दै उनले हाल पाँचौं पञ्चवर्षीय रणनीतिक योजना कार्यान्वयनको क्रममा रहेको र आर्थिक वर्ष २०८१–८२ मा यसका कार्यान्वयन सूचकहरू उत्साहजनक तथा सकारात्मक देखिएको बताइन् । ‘जसबाट न्यायिक क्षेत्रका विभिन्न आयाममा महत्त्वपूर्ण उपलब्धि हासिल भएका छन्,’ उनले भनिन्, ‘प्राप्त उपलब्धिको संरक्षण, संस्थागत सुदृढीकरण तथा सुधार प्रक्रियामा थप प्रभावकारिता अभिवृद्धि गर्न न्यायपालिका दृढतापूर्वक प्रतिबद्ध छ ।’

नेपाल प्रधान न्यायालय ऐन, २००८ विसं २००९ साल वैशाख २६ गतेबाट लागू भएको दिनको सम्झनामा प्रत्येक वर्ष वैशाख २६ गतेलाई कानुन दिवसका रूपमा मनाउने गरिएको छ ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button