२६ बैशाख २०८३, शनिबार

मनास्लु आरोहणको ७० वर्षमा हीरक जयन्ती, प्रथम आरोहीका सालिक अनावरण

गोरखा । मनास्लु हिमालको पहिलो सफल आरोहणको स्मरणमा आज हीरक जयन्ती मनाइएको छ । चुमनुब्री गाउँपालिका–१ सामागाउँमा अवस्थित आठ हजार १६३ मिटर अग्लो मनास्लु हिमाल आरोहणको अवसरमा उक्त जयन्ती मनाइएको हो ।

चुमनुब्री गाउँपालिकाको आयोजना तथा मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप), नेपाल पर्वतारोहण सङ्घ, ट्रेकिङ एजेन्सिज एसोसिएसन (टान) लगायत संस्थाको सहआयोजनामा भएको कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले हीरक जयन्तीको उद्घाटन गर्दै यसलाई पर्यटन प्रवर्द्धनको महत्त्वपूर्ण उपलब्धिका रूपमा व्याख्या गरे ।

सोही अवसरमा मनास्लुका प्रथम आरोही जापानी नागरिक तोसीयो इमानिसी र उर्गेन छिरिङ शेर्पाको सालिक अनावरण गरियो । मुख्यमन्त्री पाण्डे र गाउँपालिका अध्यक्ष निमा लामाले जापानी आरोहीका छोरा कुनियो इमानिसी र नाति रसोयुके इमानिसीलाई प्रमाणपत्र तथा दोसल्ला ओढाएर सम्मान गरे । साथै सामागाउँका प्रथम आरोही मिङ्मार छिरिङ लामा, नाङ्स्याल छेदेन र डिकी लामालाई पनि सम्मान गरिएको छ ।

कार्यक्रममा भोटेलामा समुदायको सांस्कृतिक सेर्का नाच तथा अन्य सांस्कृतिक प्रस्तुति पनि प्रदर्शन गरिएको थियो । विश्वको आठौं र नेपालको सातौं अग्लो मनास्लु हिमालको पहिलो सफल आरोहण जापानी नागरिक तोसियो इमानिसी र नेपाली नागरिक उर्गेन छिरिङ शेर्पाले सन् १९५६ मे ९ तारिखमा गरेका थिए ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button