जोगबनी नाकाबाट नेपाल प्रवेश गर्न अब अनिवार्य परिचयपत्र, सामान ढुवानीमा समेत कडाइ

विराटनगर । भारतको जोगबनी हुँदै विराटनगर नाकाबाट नेपाल प्रवेश गर्ने व्यक्तिले अब अनिवार्य रूपमा परिचयपत्र देखाउनुपर्ने भएको छ । शनिबार मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलको टोलीले सीमा क्षेत्रको अनुगमन गर्दै नेपाल भित्रिने सबै नागरिकले कागजपत्र देखाउनुपर्नेमा जोड दिएको हो ।
मोरङ जिल्ला सशस्त्र प्रहरी कार्यालयका अनुसार भारतबाट नेपाल प्रवेश गर्ने हरेक नागरिकले आफ्नो परिचयपत्र, आधार कार्डलगायतका कागजात देखाउनुपर्नेछ । सशस्त्र प्रहरीको टोलीले सीमा क्षेत्रमा माइकिङ गर्दै यसबारे जानकारी गराइरहेको छ । साथै, भारतका विभिन्न स्थानबाट रेल र सडकमार्ग हुँदै नेपाल प्रवेश गर्ने व्यक्तिले ल्याएको सामानको समेत अनिवार्य चेकजाँच गराउनुपर्ने सशस्त्र प्रहरीले जनाएको छ ।
उपभोक्ता सामान खरिदका लागि सर्वसाधारणले जोगबनीलाई रोजाइमा राख्दै आएका छन् । नेपाली बजारको तुलनामा केही सस्तो पर्ने भएकाले विराटनगर आसपासका इटहरी, तरहरा, धरान, पथरी, सुन्दरहरैचा, उर्लाबारीलगायत स्थानबाट समेत मानिसहरू खरिदका लागि जोगबनी पुग्ने गरेका छन् ।
तर, ढाट नम्बर एकबाहेक पश्चिम र पूर्वतर्फको लामो क्षेत्र खुला सीमा भएकाले तस्करीका गतिविधिले प्रश्रय पाउँदै गएको छ । केही समयअघि प्रजिअ कट्टेलले सीमा क्षेत्रमा बनेका होटल तथा पसलको अनुगमन गर्दा होटलमा बनेका खुला झ्यालबाट भारततर्फ आउनजान सहज हुने अवस्था देखेपछि ती झ्याल बन्द गर्न निर्देशन दिएका थिए ।
घरायसी प्रयोगभन्दा पनि एकै व्यक्ति दैनिक तीन–चार पटक नाकाबाट ओहोरदोहोर गर्न थालेपछि त्यस्ता व्यक्ति प्रहरी र भन्सार कर्मचारीको निगरानीमा पर्दै आएका छन् । भारतीय क्षेत्रबाट हुने तस्करी निरुत्साहित गर्न सशस्त्र प्रहरीको टोली सीमामा निरन्तर खटिरहेको जनाइएको छ ।





