सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्यका लागि दरखास्त आह्वान

काठमाडौं । सरकारले राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य पदमा नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका अनुसार ‘सहकारी ऐन २०७४’ तथा ‘प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य पदमा नियुक्तिका लागि सिफारिससम्बन्धी मापदण्ड २०८३’ बमोजिम इच्छुक नेपाली नागरिकबाट आवेदन माग गरिएको हो ।
अध्यक्ष पदका लागि अर्थशास्त्र, वाणिज्य, व्यवस्थापन, लेखा, कानून वा सहकारी विषयमा कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरेको र नेपाल सरकारको राजपत्राङ्कित विशिष्ट श्रेणी वा सो सरहको पदमा काम गरेको वा अन्तर्राष्ट्रिय वा राष्ट्रिय स्तरको बैंक, वित्तीय संस्था वा सहकारीमा कम्तीमा १५ वर्ष कार्य अनुभव भएको हुनुपर्ने योग्यता तोकिएको छ ।
विज्ञ सदस्यका लागि सोही विषयमा कम्तीमा स्नातकोत्तर उपाधि र बैंक, वित्तीय संस्था वा सहकारीमा कम्तीमा १० वर्षको कार्य अनुभव माग गरिएको छ । दुवै पदका लागि ६० वर्ष उमेर पूरा नभएका योग्यता पुगेका व्यक्तिले आवेदन दिन सक्नेछन् । आवेदकले वित्तीय सहकारी क्षेत्रका विद्यमान समस्या, चुनौती र अवसरसहितको कार्ययोजना समेत पेस गर्नुपर्नेछ ।
सूचना जारी भएको १५ दिनभित्र ललितपुरको पुलचोकस्थित राष्ट्रिय सहकारी नियमन प्राधिकरणको कार्यालयमा दरखास्त बुझाउन सकिने मन्त्रालयले जनाएको छ ।
यसअघि समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त घोषित १० वटा सहकारीका ठूला ऋणीहरूको नाम सार्वजनिक गरेको थियो । समितिले सम्बद्ध ऋणीलाई यथाशीघ्र कार्यालयमा सम्पर्क गरी ऋण चुक्ता गर्न आग्रह गर्दै अन्यथा कानूनबमोजिम असुली गरिने चेतावनी दिएको थियो ।





