२६ बैशाख २०८३, शनिबार

रुसी दूतावास र रसियन हाउसद्वारा ८१औं विजय दिवसमा ‘अमर रेजिमेन्ट’ यात्रा, सगरमाथामा पनि मनाइयो उत्सव

काठमाडौं । नेपालस्थित रुसी दूतावास र काठमाडौंस्थित रसियन हाउसले महान देशभक्तिपूर्ण युद्धको ८१औं विजय दिवसको अवसरमा विभिन्न कार्यक्रम आयोजना गरेका छन् ।

बिहानै नेपाली अधिकारीहरूको सहयोगमा ‘विजय मोटर र्याली’ सुरु भएको थियो । दूतावासका उत्सव सजाइएका सवारी साधनहरूको ¥याली विजयको झण्डा र ‘अमर रेजिमेन्ट’ का ब्यानरसहित रसियन हाउसदेखि दूतावाससम्मको मार्ग हुँदै काठमाडौंका मुख्य सडकमा भव्य रूपमा परिक्रमा गरेको थियो । सहभागीहरूले महान देशभक्तिपूर्ण युद्धमा सहभागी आफ्ना परिवारजन तथा आफन्तहरूको तस्वीर हातमा बोकेका थिए ।

यिनै तस्वीरहरूले रसियन हाउसमा ‘अमर रेजिमेन्ट’ स्थापना कला तयार गरिएको थियो, जसले सोभियत जनताको एकतालाई देखाउने ‘सबै मोर्चाका लागि, सबै विजयका लागि’ भन्ने विषयगत प्रदर्शनीलाई थप सुदृढ बनाएको थियो । उक्त प्रदर्शनीको उद्घाटन नेपालका लागि रुसी राजदूत ए.भी. सुरोभत्सेभ, रसियन हाउसकी प्रमुख एवं दूतावास सल्लाहकार ए.भी. खोखलोभा र सोभियत तथा रुसी विश्वविद्यालयका पूर्व विद्यार्थी सङ्घ ‘मित्र कुञ्ज’ की अध्यक्ष सुष्मा खत्रीले गरेका थिए । उनीहरूले ‘मित्र कुञ्ज’ का सक्रिय सदस्य तथा अन्य नेपाली सामाजिक सङ्घसंस्थाका प्रतिनिधिहरूलाई सम्बोधन गरेका थिए ।

राजदूत सुरोभत्सेभले विजय दिवस ‘आँखामा आँसु लिएर मनाइने उत्सव’ भएको बताउँदै विश्वका लागि यस विजयको महत्त्व र यसका लागि चुकाउनुपरेको ठूलो मूल्यको स्मरण गराए । उनले हाम्रो साझा मातृभूमिका लागि लड्ने सोभियत सङ्घका सम्पूर्ण जनताको निःस्वार्थता र एकता नै फासीवादको ‘खैरो महामारी’ बाट सम्पूर्ण विश्वलाई बचाउने विजयको प्रमुख कारक भएको बताए । रुसी राजदूतले आधुनिक विश्वमा, विशेष गरी युक्रेनमा, नाजीवादी विचारधाराको पुनरुत्थान हुन नदिने कुरामा जोड दिँदै हाम्रा पुर्खाहरूको साझा वीरगाथाको स्मृतिलाई नष्ट गरिँदै गरेकोप्रति चिन्ता व्यक्त गरे । उनले युवा पुस्तालाई ऐतिहासिक सत्यलाई जोगाइराख्न आह्वान गरे ।

सहभागीहरूले महान देशभक्तिपूर्ण युद्धमा शहीद भएकाहरूको सम्झनामा एक मिनेट मौनधारण गरेका थिए । प्रदर्शनी उद्घाटनपछि दूतावासका कर्मचारी, रसियन हाउस र नेपाली पूर्व विद्यार्थीहरूले संयुक्त रूपमा तयार पारेको उत्सव मैत्री सांगीतिक कार्यक्रम आयोजना गरिएको थियो, जसमा पहिलो पटक प्रस्तुत भएको रुसी–नेपाली सम्मिलित गायन मण्डलीलाई उपस्थित दर्शकहरूले न्यानो स्वागत गरेका थिए ।

कार्यक्रमको अन्त्यमा राजदूत सुरोभत्सेभले सगरमाथामा पनि अलेक्जान्डर अब्रामोभको ‘७ समिट’ क्लबको टोलीले विजय दिवस मनाएको जानकारी प्राप्त भएको बताए । यसअघि नेपालस्थित रुसी दूतावास र काठमाडौंको रसियन हाउसले उक्त टोलीलाई विजयको झण्डा र ‘रुस–नेपाल कूटनीतिक सम्बन्धको ७० वर्ष’ लेखिएको पताका हस्तान्तरण गरेको थियो ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button