स्लोभाकियाका प्रधानमन्त्री फिको मस्कोमा, पुटिनले दिए ऊर्जा आपूर्ति जारी राख्ने आश्वासन

मस्को । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोसँग विजय दिवसको अवसरमा मस्कोमा भेटवार्ता गरेका छन् ।
भेटका क्रममा राष्ट्रपति पुटिनले गत वर्ष ८०औं वार्षिकोत्सवमा पनि सँगै रहेको स्मरण गर्दै पुनः मस्को आउने निर्णयप्रति आभार व्यक्त गरे । ‘तपाईंको भ्रमणमा केही कठिनाइ भए पनि तपाईं यहाँ हुनुहुन्छ, यसका लागि हामी कृतज्ञ छौं,’ पुटिनले भने ।
पुटिनले दोस्रो विश्वयुद्धको ऐतिहासिक सत्य र नाजीवादबाट युरोपलाई मुक्त गराउने क्रममा सोभियत सेनाको भूमिकाप्रति प्रधानमन्त्री फिकोको निरन्तर अडानको प्रशंसा गरे । उनले सन् १९४४ अगस्ट २९ को स्लोभाक राष्ट्रिय विद्रोहमा सहभागी स्लोभाक योद्धाहरूको योगदानलाई पनि स्मरण गरे ।
राष्ट्रपति पुटिनले स्लोभाक भूमिमा नाजीविरुद्ध लड्दै शहीद भएका सोभियत सैनिकहरूको स्मारक र चिहानहरूप्रति स्लोभाक सरकार र जनताले देखाएको सम्मानप्रति आभार प्रकट गरे । मिचालोभ्चेस्थित रेड आर्मीको केन्द्रीय सैन्य स्मारक चिहान तयार भइरहेको उल्लेख गर्दै पुटिनले यस विषयमा ध्यान दिएकोमा धन्यवाद दिए ।
उनले विगतमा रुस–स्लोभाकिया सम्बन्ध उच्चस्तरीय राजनीतिक संवाद र स्थिर सहकार्यले भरिएको स्मरण गराउँदै युक्रेनको घटनाक्रम र युरोपेली सङ्घ तथा नेटोले लादेको टकरावपूर्ण नीतिले सम्बन्ध जटिल बनेको बताए । तर, स्लोभाक सरकारले सार्वभौम विदेश नीति र रुसप्रति व्यावहारिक मार्ग अवलम्बन गरिरहेकोमा स्वागत गर्दै द्विपक्षीय सहकार्य क्रमशः पुनर्स्थापना भइरहेको पुटिनले बताए ।
‘हामी स्लोभाक गणतन्त्रको ऊर्जा स्रोतको माग पूरा गर्न सबैथोक गर्नेछौं र पारस्परिक हितका अन्य क्षेत्रमा पनि सहकार्य गर्न तयार छौं,’ पुटिनले प्रतिबद्धता जनाए ।





