दमौली–भरतपुर प्रसारण लाइन : चितवन खण्डको रुख कटानको अनुमति प्राप्त, निर्माणले पाउनेछ गति

चितवन । तनहुँ जलविद्युत् आयोजनाअन्तर्गत निर्माणाधीन दमौली–भरतपुर २२० केभी प्रसारण लाइनको चितवन खण्डमा पर्ने रुख कटानको अनुमति प्राप्त भएको छ ।
डिभिजन वन कार्यालय चितवनले २०८३ वैशाख २५ गतेदेखि लागू हुने गरी प्रसारण लाइनको मार्गाधिकार क्षेत्रमा पर्ने राष्ट्रिय तथा सामुदायिक वनका रुख कटान, मुछान र घाटगद्दीका लागि आयोजनालाई वन प्रवेश इजाजतपत्र प्रदान गरेको हो । आयोजना र डिभिजन वन कार्यालयबीच औपचारिक सम्झौता सम्पन्न भएसँगै निर्माण कार्यले थप गति लिने आयोजना प्रमुख श्यामजी भण्डारीले जानकारी दिए ।
उनका अनुसार भरतपुर महानगरपालिका–१ स्थित सतनचुली संरक्षित वन र सतनचुली सामुदायिक वन तथा वडा नम्बर २९ अन्तर्गत अकलादेवी र सिद्धदेवी सामुदायिक वन क्षेत्रका विभिन्न प्रजातिका एक हजार २६३ रुख कटान गरिनेछ । काटिएका रुख सम्बन्धित सामुदायिक वन उपभोक्ता समूह र सबडिभिजन वन कार्यालयले तोकेको सुरक्षित स्थानमा घाटगद्दी गर्नुपर्ने व्यवस्था रहेको छ ।
नेपाल सरकार मन्त्रिपरिषद्को २०७९ मङ्सिर २० गतेको निर्णयअनुसार यो प्रसारण लाइन निर्माणका लागि चितवन र तनहुँ जिल्लाको कुल ९२.७३ हेक्टर वन क्षेत्र प्रयोग गर्न तथा त्यहाँ रहेका नौ हजार १२७ रुख हटाउन स्वीकृति दिइएको थियो । जसमध्ये चितवनमा २५.२७ हेक्टर र तनहुँमा ६७.४६ हेक्टर वन क्षेत्र पर्दछ । सोही निर्णयको आधारमा २०८२ पुष ३० गते आयोजना र वन तथा भूसंरक्षण विभागबीच सम्झौता भएको थियो भने त्यसपछि डिभिजन वन कार्यालय, आयोजना र सामुदायिक वन समूहको समन्वयमा रुख छपान कार्य अघि बढाइएको हो ।
चितवन खण्डमा कटान सुरु हुँदा तनहुँ जिल्लाअन्तर्गत पर्ने रुखको छपान कार्य भने हाल जारी रहेको आयोजनाले जनाएको छ । कुल ५० करोड ५० लाख अमेरिकी डलर लागत अनुमान गरिएको यस आयोजनामा एसियाली विकास बैंक, जाइका, युरोपेली लगानी बैंक, नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानी रहेको छ ।
आयोजनाबाट विद्युत् उत्पादन सुरु भएको पहिलो १० वर्षसम्म वार्षिक औसत ५८ करोड ७७ लाख युनिट विद्युत् उत्पादन हुनेछ । यसैगरी, सो आयोजनाबाट विद्युत् उत्पादनपछि प्राप्त हुने बहाव र मादी नदीको पानी प्रयोग गरी तल्लो तटीय क्षेत्रमा १२६ मेगावाटको तल्लो सेती जलविद्युत् आयोजनाको विकास प्रक्रियासमेत अघि बढाइएको छ ।





