एसियन हाइवे विस्तारका क्रममा बिर्तामोडको ऐतिहासिक मुक्तिचोकको शालिक भत्काइयो

बिर्तामोड (झापा) । झापाको बिर्तामोडस्थित मुख्य चोकमा रहेको ऐतिहासिक ‘मुक्तिचोक’ को शालिक भत्काउन सुरु गरिएको छ । एसियन हाइवे (एसियाली राजमार्ग) निर्माण प्रक्रियाअन्तर्गत सडक विस्तारका लागि बिहीबार रातिदेखि सो शालिक हटाउन थालिएको हो ।
उक्त शालिक बिर्तामोडको प्रमुख पहिचान र ऐतिहासिक महत्त्वको प्रतीकका रूपमा रहँदै आएको थियो । २०६२–०६३ को दोस्रो जनआन्दोलन सफल भएपछि राजतन्त्रको अन्त्य र लोकतान्त्रिक गणतन्त्रको स्थापनाको खुसीयालीमा यसलाई ‘मुक्ति’ को प्रतीक स्वरूप स्थापना गरिएको थियो । तत्कालीन प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति स्वर्गीय गिरिजाप्रसाद कोइरालाले यस शहीद स्तम्भको अनावरण गरेका थिए भने लामो समयदेखि यो चोक झापाकै व्यस्त र मुख्य केन्द्रका रूपमा परिचित रहँदै आएको थियो ।
एसियन हाइवे लौकही–काँकडभिट्टा पूर्वी खण्डका आयोजना प्रमुख सुनिलबाबु पन्तका अनुसार सडक निर्माणमा अवरोध पुग्ने भएकाले प्राविधिक आवश्यकताका कारण शालिक स्थानान्तरण गर्नुपरेको हो । चोकबाट हटाइएको सो शालिकलाई तत्कालका लागि बिर्तामोड नगरपालिकाको कार्यालयमा लगेर सुरक्षित राखिने आयोजनाले जनाएको छ ।
बिर्तामोडको सान र आन्दोलनको विरासत बोकेको यो संरचना हटाइएपछि स्थानीयवासीले मिश्रित प्रतिक्रिया दिएका छन् ।





