११ वर्षपछि रामतोला गाउँ जोड्ने सडक कालोपत्र, विकासको आशा पलायो

बागलुङ । विकासको दृष्टिले ओझेलमा परेको बागलुङ नगरपालिका–१० स्थित रामतोला गाउँ जोड्ने सडक पहिलो पटक कालोपत्र गरिएको छ । सदरमुकाम नजिकै भएर पनि भौगोलिक विकटताका कारण पछाडि परेको यस गाउँलाई जोड्न २०७२ सालमा ट्रयाक खोलिएको थियो । ट्रयाक खुलेको ११ वर्षपछि अहिले आएर कालोपत्र गरिएको हो ।
भकुण्डे डोटेतालदेखि रामतोलासम्म करिब पाँच किलोमिटर लामो यस सडकको यस वर्ष स्तरोन्नतिसहित एक किलोमिटर कालोपत्र गरेर सुरुआत गरिएको बागलुङ नगरपालिका–११ का अध्यक्ष ज्ञानेन्द्र गौतमले जानकारी दिए । पहिलो चरणमा अत्यन्तै साँघुरो र अप्ठेरो स्थानबाट कालोपत्र सुरु गरिएको उनको भनाइ छ ।
‘जिल्ला सदरमुकाममै पर्ने भए पनि रायडाँडा, रामतोला गाउँ विगतदेखि नै ओझेलमा पर्दै आएका थिए,’ अध्यक्ष गौतमले भने, ‘यस वर्ष सङ्घीय सरकारको लगानीमा रामतोला गाउँ जोड्ने सडकको थालनी गरेका छौं, अब हरेक वर्ष निरन्तर काम गर्दै गएर गाउँसम्मै कालोपत्र सडक पुग्नेछ ।’
सङ्घीय सरकारले विनियोजन गरेको दुई करोड ९५ लाख रुपैयाँमा सडक डिभिजन कार्यालयमार्फत उक्त सडक कालोपत्र भएको हो । विसं २०८२ वैशाखमा हिलसाइड/पीके जेभीले आगामी जेठ २५ गतेभित्र सक्ने गरी ठेक्का पाएको सडक डिभिजन कार्यालयका सूचना अधिकारी इन्जिनियर विष्णु लामिछानेले जानकारी दिए । उनका अनुसार एक किलोमिटर सडक फराकिलो बनाउने, नाली निर्माण, ग्याबिन भर्नेदेखि कालोपत्र गर्नेसम्मको काम भइरहेको छ । ट्रयाक खुलेदेखि अहिलेसम्म स्तरोन्नति नहुँदा छोटो दूरीको सडक कालोपत्र गर्न ठूलो लागत लागेको इन्जिनियर लामिछानेले बताए ।





