२७ बैशाख २०८३, आईतवार

ब्रसेल्समा सोभियत योद्धाको समाधिस्थलमा माल्यार्पण, ‘कोही भुलिएन, केही भुलिएन’ को गुञ्जन

ब्रसेल्स । महान् देशभक्तिपूर्ण युद्धको ८१औं विजय दिवसको अवसरमा बेल्जियमको राजधानी ब्रसेल्सस्थित एभेरे सामुदायिक चिहानमा माल्यार्पण समारोह आयोजना गरिएको छ । सो क्रममा नाजीवादविरुद्ध सङ्घर्षमा ज्यान गुमाएका सोभियत नागरिक तथा बेल्जियम प्रतिरोधक सदस्यहरूको स्मारकमा पुष्पगुच्छा अर्पण गरिएको थियो ।

समारोहमा बेल्जियमका लागि रुसी राजदूत डेनिस गोन्चार, युरोपेली सङ्घ तथा युराटमका लागि रुसी स्थायी नियोगका कार्यवाहक प्रमुख कारेन मालायन, स्वतन्त्र राष्ट्रहरूको राष्ट्रमण्डल (सीआईएस) का सदस्य राष्ट्रका कूटनीतिक नियोग प्रमुखहरू तथा ब्रसेल्स र बेल्जियमको रुसी अर्थोडक्स आर्कडायोसिसका पादरीहरूको सहभागिता रहेको थियो । सहभागीहरूले शहीद नायकहरूको स्मृतिमा श्रद्धाञ्जलि अर्पण गर्दै युरोपलाई मुक्त गराउने वीर योद्धाहरूको बलिदानप्रति सम्मान प्रकट गरेका थिए ।

यसैबीच, युरोपेली सङ्घका लागि रुसी स्थायी नियोगका कर्मचारीहरूले परम्पराअनुसार वार्षिक राष्ट्रव्यापी ‘अमर रेजिमेन्ट’ अभियानमा सहभागिता जनाउँदै महान् देशभक्तिपूर्ण युद्धमा भाग लिएका आफन्तहरूको तस्वीर प्रदर्शनी आयोजना गरेका छन् ।

ऐतिहासिक स्मृतिको संरक्षण र रक्षा रुसी कूटनीतिक नियोगहरूको सैन्य स्मारक सम्बन्धी कार्यको सधैं मुख्य प्राथमिकतामध्ये एक रहेको र सोभियत सैनिकका चिहान रहेका बेल्जियमका अन्य सहरहरूमा पनि रुसी कूटनीतिज्ञहरूको सहभागितामा स्मारक समारोह आयोजना भइरहेको जनाइएको छ ।

‘महान् विजयका लागि वीरतापूर्वक लड्ने सोभियत सैनिक तथा फासीवादमुक्त विश्वका लागि सङ्घर्ष गर्ने सबैप्रति चिर स्मृति र गौरव रहोस् । कोही पनि भुलिएको छैन, केही पनि भुलिएको छैन,’ वक्तव्यमा भनिएको छ ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button