ताइवानको विशेष हतियार खरिद विधेयकमा ठूलो कटौती, विपक्षीको संशोधन पारित

ताइपेई । ताइवानको संसद्ले विशेष हतियार खरिद विधेयकको संशोधित संस्करण पारित गरेको छ, जसअन्तर्गत सत्तारुढ प्रजातान्त्रिक प्रगतिशील पार्टी (डीपीपी) ले प्रस्ताव गरेको एक खर्ब २५ अर्ब न्यू ताइवान डलर (करिब ४० अर्ब अमेरिकी डलर) को विशाल बजेट घटाएर ७८ अर्ब न्यू ताइवान डलरमा सीमित गरिएको छ ।
विपक्षी चिनियाँ राष्ट्रवादी पार्टी (केएमटी) र ताइवान जनता पार्टी (टीपीपी) ले संयुक्त रूपमा अघि बढाएको उक्त संशोधन शुक्रबारको मतदानमा पारित भएको हो । डीपीपीका सांसदहरूले कटौतीको विरोधमा मतदानबाट अलग रहेका थिए ।
उक्त हतियार खरिद विधेयकले पछिल्ला महिनाहरूमा ताइवानभर तीव्र बहस सिर्जना गरेको थियो । विपक्षी दलहरू र जनताको एक वर्गले खर्च योजनाको आकार र पारदर्शितामाथि प्रश्न उठाएका थिए । ताइवान क्षेत्रका नेता लाई चिङ–तेले सन् २०३० सम्म ताइवानको रक्षा बजेट कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ५ प्रतिशत पुर्याउने प्रतिबद्धता जनाएका थिए र आगामी आठ वर्षमा हतियार खरिदका लागि कुल ४० अर्ब अमेरिकी डलर खर्च गर्ने योजना सार्वजनिक गरेका थिए ।
विधायिकी प्रक्रियाका क्रममा केएमटी र टीपीपीले विधेयकलाई पटक–पटक अगाडि बढ्न नदिन अवरोध गरेका थिए । स्थानीय सञ्चारमाध्यमका अनुसार संसदीय प्रमुख हान कुओ–युले चार चरणको अन्तरदलीय परामर्श आयोजना गरे पनि प्रमुख खरिदका विषय र समग्र बजेट सीमामा सांसदहरूबीच मतभेद कायमै रहेको थियो । मतदानको एक दिनअघि मात्र दुई विपक्षी दलबीच बजेट सीमा ७८ अर्ब न्यू ताइवान डलरमा तोक्ने सहमति भएको थियो ।
केएमटी अध्यक्ष छेङ ली–वुनले शुक्रबार फेसबुकमा जारी वक्तव्यमा विपक्षी दलहरूले संसद्को न्यूनतम सीमा रक्षा गरेको बताउँदै डीपीपीले ताइवानको रक्षाको नाममा खर्च योजनाबारे स्पष्ट विवरण दिन असफल भएको आरोप लगाइन् ।
ताइवानभित्रै आलोचकहरूले यति ठूलो परिमाणको सैन्य खरिद ताइवानले धान्न नसक्ने प्रश्न उठाएका छन् । स्थानीय सञ्चारमाध्यम स्टर्म मिडियाका अनुसार ताइवानको मुख्यभूमि मामिला प्राधिकरणका पूर्व प्रमुख सु चीले यस्तो खर्च ‘सुरक्षा शुल्क’ तिर्नुजस्तै भएको टिप्पणी गरेका छन् । न्यू पार्टीका अध्यक्ष वु छेङ–तिएनले सरकारले आकासिँदो घरजग्गा मूल्य र घट्दो जन्मदरजस्ता जनजीविकाका मुद्दालाई बेवास्ता गरी हतियार खरिदलाई प्राथमिकता दिएको आरोप लगाएका छन् ।
डीपीपीले आफ्नो पृथकतावादी एजेन्डा अघि बढाउन लामो समयदेखि मुख्यभूमिबाट हुने तथाकथित सैन्य खतरालाई बढाइचढाइ गर्दै आएको छ । ताइवानस्थित डेमोक्रेसी फाउन्डेसनले हालै सार्वजनिक गरेको सर्वेक्षणमा ५७.६ प्रतिशत उत्तरदाताले हतियार खरिदले मात्र ताइवानको वास्तविक सुरक्षा नहुने बताएका थिए ।
केएमटी अध्यक्ष छेङले शुक्रबारको वक्तव्यमा ताइवान जलडमरूमध्यमा शान्ति कायम राख्न मुख्यभूमिसँग संवाद र आदानप्रदान विस्तार गर्न प्रयास गर्नुपर्ने बताइन् । यसैबीच, न्यू पार्टीका उपाध्यक्ष ली सेङ–फेङले हालैको एक मञ्चमा ताइवानको भविष्यको विकास मुख्यभूमिसँगको साझा ऐतिहासिक, सांस्कृतिक र जनस्तरको सम्बन्धमा आधारित हुनुपर्ने बताउँदै त्यसलाई नै शान्तिको वास्तविक ग्यारेन्टीको रूपमा व्याख्या गरेका छन् ।





