एपेक व्यापार मन्त्रीस्तरीय बैठक सुझाउमा हुने, खुला व्यापार र हरित अर्थतन्त्रमा केन्द्रित रहने

सुझाउ (चीन) । चीनको पूर्वी प्रान्त च्याङ्सुस्थित सुझाउ सहरमा यही मे २२ र २३ तारिखमा ३२औं एसिया–प्रशान्त आर्थिक सहयोग सङ्गठन (एपेक) का व्यापारमन्त्रीस्तरीय बैठक आयोजना हुने भएको छ । चीनको वाणिज्य मन्त्रालयले शनिबार उक्त जानकारी दिएको हो ।
विश्वव्यापी अनिश्चितता बढिरहेको, आर्थिक वृद्धि सुस्त र एसिया–प्रशान्त क्षेत्रले जटिल चुनौती सामना गरिरहेको पृष्ठभूमिमा चीनले एपेक सदस्यहरूसँग मिलेर दुई प्रमुख प्राथमिकतामा सहमति निर्माण गर्ने प्रयास गर्ने चीनका अन्तर्राष्ट्रिय व्यापार प्रतिनिधि एवं वाणिज्य उपमन्त्री ली छङकाङले पत्रकार सम्मेलनमा बताए ।
उनका अनुसार खुला र पूर्वानुमानयोग्य क्षेत्रीय तथा बहुपक्षीय आर्थिक एवं व्यापारिक व्यवस्था निर्माण गर्न चीनले यस क्षेत्रमा आर्थिक तथा व्यापार नियमहरूको बढी समन्वय, आपूर्ति शृङ्खलाको जडान र लचकता सुदृढ गर्न तथा आपसी विश्वास अभिवृद्धि गर्ने व्यापार र लगानी साझेदारीलाई प्रवर्द्धन गर्न खोजेको छ । साथै, डिजिटल र हरित अर्थतन्त्रजस्ता उदीयमान क्षेत्रमा सहकार्य विस्तार र सुदृढ गर्ने उपायबारे चीनले एपेक सदस्यहरूसँग गहिराइमा छलफल गर्नेछ ।
यस बैठकले उच्चस्तरीय खुलापन, सबल डिजिटल र हरित सहकार्य तथा समावेशी वृद्धि र साझा समृद्धिप्रतिको प्रतिबद्धताको सन्देश प्रवाह गर्ने अपेक्षा लीले व्यक्त गरे । बैठकका क्रममा चीनले लगानी सहजीकरण, विद्युतीय ल्याडिङ बिल, हरित आपूर्ति शृङ्खला र डिजिटल बन्दरगाह सञ्जालबारे पनि छलफलको आयोजना गर्नेछ ।
चीनले यसअघि सन् २००१ र २०१४ मा एपेक व्यापारमन्त्रीहरूको बैठक आयोजना गरेको थियो । ३३औं एपेक आर्थिक नेताहरूको बैठक आगामी नोभेम्बरमा दक्षिण चीनको क्वाङतुङ प्रान्तस्थित शनचनमा आयोजना हुनेछ । सन् २०२६ को एपेक ‘चीन वर्ष’ का क्रममा चीनका विभिन्न सहरहरूमा करिब ३०० कार्यक्रम आयोजना हुने चिनियाँ परराष्ट्र मन्त्रालयले जनाएको छ ।





