२७ बैशाख २०८३, आईतवार

४२ हप्ता कुर्दा पनि सुत्केरी नभएकी आमाको जोमसोममै सफल शल्यक्रिया, जोगियो दुई ज्यान

मुस्ताङ । घरपझोङ गाउँपालिका–४ जोमसोमस्थित प्रदेश अस्पतालमा एक महिलाको आकस्मिक शल्यक्रियामार्फत सफल प्रसूति गराइएको छ। गर्भावस्थाको ४२ हप्ता ६ दिन पुग्दासमेत प्रसव व्यथा सुरु नभएपछि र शिशुको चाल कम भएपछि जटिल अवस्थामा अस्पताल पुगेकी २९ वर्षीया महिलाको शुक्रबार शल्यक्रिया गरिएको हो।

अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा. समीक्षा कँडेलका अनुसार स्वास्थ्य परीक्षण गर्दा पाठेघरमा पानीको मात्रा निकै कम भएको र शिशुको अवस्था जोखिमपूर्ण रहेको पाइयो। “गर्भवतीको अवस्थाबारे आफन्तजनलाई उचित परामर्श दिएर आकस्मिक शल्यक्रियाद्वारा प्रसूति गराइयो,” डा. कँडेलले भनिन्। शल्यक्रियापछि दुई किलो ५०० ग्राम तौलको शिशु जन्मिएको छ। आमा र शिशु दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ।

प्रदेश अस्पताल जोमसोममा पछिल्लो चार आर्थिक वर्षमा एक सयभन्दा बढी महिलाले प्रसूति सेवा लिइसकेका छन् भने तीमध्ये १६ जनाको शल्यक्रियामार्फत सफल प्रसूति भएको डा. कँडेलले बताइन्। हिमाली जिल्ला मुस्ताङमा शल्यक्रिया सेवा भरपर्दो बन्दै गएपछि विपन्न तथा आर्थिक अवस्था कमजोर भएका महिलालाई सुगमका अस्पताल धाउनुपर्ने बाध्यता हटेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button