रात नपर्दै गाउँ छिर्छन् हात्ती, बाली सखाप !

मेचीनगर । मेचीनगरको बाहुनडाँगी क्षेत्रमा एक सातायता भारतीय जङ्गलबाट राति हात्तीका बथान पसेर खेतीबाली नष्ट गर्न थालेपछि सीमा क्षेत्रका बासिन्दामा त्रास छाएको छ। नगरपालिकाको वडा नं १, ४ र ५ का किसानको मकै र सुपारीबालीमा हात्तीले नोक्सान गर्दै आएका छन्।
करीब एक सातादेखि भारतको आसामबाट आएका झन्डै सयको सङ्ख्यामा रहेका हात्तीको बथान दिउँसो सीमापारिको जङ्गलमै बस्छन्। रात परेपछि भने बथानबाट अलग्गिएका ३० देखि ४० वटा हात्ती नेपाल प्रवेश गरी किसानको पाक्नै लागेको बाली सखाप पार्ने गरेको वडा नं ४ का वडाध्यक्ष अर्जुन कार्कीले बताए।
हात्ती नियन्त्रणका लागि हालै आयोजित सर्वपक्षीय बैठकले सुरक्षाकर्मी, वनरक्षक र द्रुत प्रतिकार्य टोलीको संयुक्त टोली परिचालन गर्नेसहित कैयौं ठोस निर्णय गरेको छ। साँझ ६ बजेपछि हात्ती हेर्ने बहानामा सर्वसाधारणलाई प्रवेश नाकामा जान रोक लगाउने, प्रभावित बस्ती आसपास मौसमी तारबार लगाउने तथा हात्ती भगाउन र नाकामा रोक्न ट्रयाक्टर परिचालन गर्ने निर्णय भएको छ। ट्रयाक्टरका लागि नगरपालिकाले इन्धन उपलब्ध गराउने र राति हिँडडुल नगर्न माइकिङ गरिने पनि वडाध्यक्ष कार्कीले जानकारी दिए।
यसैबीच, करीब एक दशकअघि सीमा क्षेत्रमा जडान गरिएको १८ किलोमिटर लामो सौर्य तारबार मर्मतका लागि ३० लाख रुपैयाँ बराबरको प्रक्रिया अघि बढेको मानव हात्ती द्वन्द्व व्यवस्थापन तथा वातावरण संरक्षण मञ्चका अध्यक्ष हरिप्रसाद उप्रेतीले बताए। राष्ट्रिय प्रकृति संरक्षण कोष, डिभिजन वन कार्यालय र मेचीनगर नगरपालिकाको साझेदारीमा उक्त तारबारका बिग्रिएका ब्याट्री फेर्न लागिएको हो।
सीमापारिबाट आएका हात्तीका कारण केही महिनाभित्रै बाहुनडाँगीमा तीन जना घाइते भइसकेको र १५ वटा घरमा क्षति पुगेको स्थानीय गोपी रिजालले बताए। उनले सौर्य तारबारका ब्याट्री चोरी हुने गरेकाले तत्काल नयाँ ब्याट्री जडान गर्नुपर्ने माग गरे। मञ्चका पूर्वअध्यक्ष नीरज घिमिरे भारतसँग उच्चस्तरीय वार्ता गरेरै हात्तीको बथान रोक्नुपर्ने बताउँछन्।





