रविको निर्देशनपछि रास्वपा सचिवालय बैठक आज, विघटन र कारबाही पनि एजेन्डामा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको निर्देशनपछि आज साँझ ६ बजे पार्टीको सचिवालय बैठक बस्दैछ। बैठक केन्द्रीय कार्यालय घण्टीघर वनस्थलीमा हुने पार्टी प्रवक्ता मनिष झाले जानकारी दिए।
उनका अनुसार बैठकले भेला तथा अधिवेशनको विशेष तालिका तय गर्ने, विभिन्न आयोग तथा विभागमा पदाधिकारी मनोनयन गर्ने र जिल्ला समिति विघटनबारे निर्णय लिनेछ। यस्तै अनुशासनात्मक कारबाही र आगामी केन्द्रीय समिति बैठकको मिति तय गर्नेलगायत विषय पनि कार्यसूचीमा समेटिएका छन्। यी सबै एजेन्डा सभापति लामिछानेकै निर्देशनमा अघि बढाइएको प्रवक्ता झाको भनाइ छ।





