२७ बैशाख २०८३, आईतवार

ओभरटेक गर्दा पूर्व–पश्चिम राजमार्गमा बस दुर्घटना, १७ यात्रु घाइते

धनुषा । काठमाडौंबाट विराटनगरतर्फ जाँदै गरेको बसले अर्को बसलाई ओभरटेक गर्ने क्रममा आइतबार बिहान धनुषाको मिथिला नगरपालिका–९ स्थित फुटबल मैदाननजिक दुर्घटना भएको छ। दुर्घटनामा परी १७ जना घाइते भएका छन्।

धनुषाका प्रहरी प्रवक्ता डीएसपी गणेशबहादुर बमका अनुसार बिहान करिब पौने ६ बजे बा.प्र. ०१–००६ ख ५२३७ नम्बरको बसले सोही दिशातर्फ गइरहेको बसलाई ओभरटेक गर्ने क्रममा दुर्घटना भएको हो। बसमा ३३ जना यात्रु सवार थिए। घाइते सबैको लालगढस्थित मोडल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

घाइते हुनेहरूमा मकवानपुर हेटौंडाका ४३ वर्षीय चालक विष्णु विष्ट, भारत आसामका ५० वर्षीय विराज शेख, ३५ वर्षीय सतन शेख, २८ वर्षीय अफताब अन्सारी, सुनसरी हरिनगरका २० वर्षीय सुजन यादव, उदयपुर चन्दनगढीका ३२ वर्षीय अजय काफ्ले, काठमाडौंका २१ वर्षीया रिद्दि खड्की र २१ वर्षीया सरन खड्की, धनुषाको गणेशमान चारनाथकी ४२ वर्षीया ललिता भुजेल छन्।

त्यस्तै सर्लाही लालबन्दीका ३८ वर्षीय दिजेन्द्र न्यौपाने, मोरङ विराटनगरका २८ वर्षीय सहचालक मुकेश साह, तेह्रथुम थथरकी २८ वर्षीया कविता भुजेल, सुनसरी धरानकी ३४ वर्षीया मेरी राई, झापा झिलझिलेका २० वर्षीय न्युसन थापा, सुनसरी इनर्वाका ३३ वर्षीय राजकुमार उरौ, सिराहा मिर्चैयाका ४४ वर्षीय रतनदेव मण्डल र इनर्वाकी ३३ वर्षीया सन्तोषी उरौ पनि घाइते भएका छन्।

यसैबीच, ओभरटेकको क्रममा प्र १–०१–००१ ख ४२२४ नम्बरको बसमा सामान्य क्षति भए पनि उक्त बस आफ्नो गन्तव्यतर्फ गएको धनुषा प्रहरीले जनाएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button