२७ बैशाख २०८३, आईतवार

डोजर पुगेपछि सामान सार्न व्यस्त कोहलपुर, सात सयभन्दा बढी घर–टहरा खाली हुँदै

कोहलपुर । कोहलपुर नगर विकासको जग्गामा बनेका बस्तीमा हिजोदेखि डोजर चल्न थालेपछि बसोबासी सामान सार्न व्यस्त भएका छन्। हिजो खाली भएका घरहरूमा डोजर चलाइएपछि अन्य बसोबासीले पनि समय मागेर आफ्नो सामान सारिरहेका हुन्।

आइतबार बिहान ६ बजेदेखि नै नगर प्रहरी बस्तीमा खटिएको छ। बसोबासीले सामान सारिरहेको र दिउँसोपछि खाली घरमा डोजर चलाइने कोहलपुर नगर प्रहरी इन्चार्ज वीरबहादुर थापाले बताए। उनका अनुसार नगरपालिकाले नयाँ बसपार्कमा व्यवस्था गरेको होल्डिङ सेन्टरमा ७१ परिवार सम्पर्कमा आएका छन्। वृद्ध र अशक्तहरूको सामान सार्न नगर प्रहरीले सहयोगसमेत गरेको छ।

यो बस्ती प्रस्तावित अन्तर्राष्ट्रिय क्रिकेट मैदान आसपासको जग्गामा छ, जहाँ वर्षौंदेखि अतिक्रमण गरेर बसोबास गरिँदै आएको छ। कतिपय जग्गा पटक–पटक किनबेच भएको र ६–७ धुर जग्गा ८ लाखदेखि १२ लाख रुपैयाँसम्ममा किनेकाहरू ठगिएको पाइएको नगरपालिकाले जनाएको छ।

नगरपालिकाले १६ ठाउँमा होल्डिङ सेन्टर बनाए पनि त्यहाँका अधिकांश बसोबासीको बाहिर नै बस्ने व्यवस्था रहेको पाइएको छ। नगर विकासको जग्गामा कूल ७५१ घर–टहरा रहेको र ती सबैलाई क्रमशः खाली गराइने प्रशासनले जनाएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button