‘रुस जति शक्तिशाली हुन्छ, सोभियत योगदान ढाक्ने प्रयास त्यति नै सेलाउँदै जान्छ’ : पुटिनको पश्चिमालाई चेतावनी

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पश्चिमा मुलुकहरूप्रति लक्षित गर्दै रुस जति शक्तिशाली बन्दै जान्छ, नाजीवादमाथिको विजयमा तत्कालीन सोभियत सङ्घको योगदानलाई कम आँक्ने प्रयासहरू त्यति नै तीव्र रूपमा सेलाउँदै जाने बताएका छन्।
पुटिनले युरोपमा दोस्रो विश्वयुद्धको इतिहास पुनर्लेखन गर्ने प्रयासलाई ‘मूर्खता’ को संज्ञा दिँदै त्यसले गरिबीसम्म पुर्याउन सक्ने चेतावनी दिए। सन् २०२२ मा पश्चिमा मुलुकहरूले ६ महिनाभित्रै रुस धराशयी हुने अनुमान गरेको उनले स्मरण गराए। “पश्चिमाले रुसबाट केही टुक्र्याउने सपना देखेका थिए,” पुटिनले भने।
फिनल्यान्डले रुस ध्वस्त भए केही हात पार्ने आशामा नाटो सदस्यता लिएको उनको भनाइ थियो। तर, फिनल्यान्डले रुसबाट केही खोस्न खोजेकोप्रति आफूले सांस्कृतिक कारणले केही इशाराहरू गर्नबाट आफूलाई रोकेको पुटिनले बताए।
यद्यपि, भविष्यमा धेरै पश्चिमा मुलुकहरूसँग रुसले सम्बन्ध पुनर्स्थापना गर्नेमा आफू विश्वस्त रहेको पुटिनको भनाइ थियो। उनले रुस विरुद्धको प्रतिबन्ध र दबाबको नीति असफल भइसकेको सङ्केत गर्दै आफ्नो मुलुकले सधैं सम्मानजनक र समानतामा आधारित अन्तर्राष्ट्रिय सम्बन्धको पक्षमा रहेको जोड दिए।





