निर्वाचनपछिको हल्लाले विराटनगर–जोगबनी नाकामा सुरक्षा कडा, प्रशासन भन्छ– ‘अफवाह मात्रै’

विराटनगर । भारतको पश्चिम बंगाल राज्यमा हालै सम्पन्न विधानसभा चुनावपछि रोहिंग्या शरणार्थी र अवैध बंगलादेशी नागरिकलाई निष्कासन गरिने हल्ला फैलिएपछि विराटनगर–जोगबनी नाकाको सुरक्षा जाँच कडा बनाइएको छ।
सामाजिक सञ्जाल र केही सञ्चारमाध्यममा यसबारे समाचार प्रकाशित भएपछि मोरङ प्रशासनले नाकामा कडाइ गरेको जनाएको छ। अब जोगबनी नाकाबाट आवतजावत गर्ने जोकोहीलाई नेपाली सुरक्षाकर्मीले परिचयपत्र देखाएपछि मात्र प्रवेश तथा बाहिरिन अनुमति दिन थालेका छन्।
पश्चिम बंगालको मुस्लिम बहुल जिल्ला माल्दाबाट विराटनगरको रानी–जोगबनी नाकाको दूरी १९९ किलोमिटर मात्र छ। विशेषगरी कलकत्ता एक्सप्रेस रेलमार्फत आँखा उपचारका लागि पश्चिम बंगालका नागरिक नेपाल आउने गरेकाले यही मार्ग प्रयोग गरेर रोहिंग्या शरणार्थी प्रवेश गर्न सक्ने आशंकामा निगरानी बढाइएको हो।
शनिबार, मंगलबार र बिहीबार कलकत्ता–जोगबनी रेल सञ्चालन हुने भएकाले ती दिन नेपाल प्रहरी र सशस्त्र प्रहरीले संयुक्त रूपमा चेकजाँच गर्छन्। अन्य दिन सशस्त्र प्रहरीले नियमित निगरानी गर्दै आएको छ।
तर, सुरक्षा अधिकारीहरू भने यो हल्लाको पछाडि वास्तविकता नभएको बताउँछन्। नेपालले २०७८ सालपछि तेस्रो देशमा पुनर्स्थापना गर्ने नीति स्थगित गरिसकेकाले रोहिंग्या शरणार्थी ठूलो संख्यामा नेपाल प्रवेश गर्ने सम्भावना न्यून रहेको उनीहरूको भनाइ छ। “सामाजिक सञ्जाल र सञ्चारमाध्यममा आएका समाचार एक हदसम्म अफवाह मात्र हुन्,” एक सुरक्षा अधिकारीले भने।
चुनावी परिणाम र अफवाहको स्रोत
पश्चिम बंगाल विधानसभा चुनावमा भारतीय जनता पार्टीले उल्लेखनीय सफलता हासिल गरेपछि सामाजिक सञ्जालमा ‘बंगलादेशी घुसपैठिया र रोहिंग्यालाई लखेट्न थालिएको’ भन्दै विभिन्न भिडियो भाइरल भएका थिए। ती भिडियोमा मानिसहरू सामान बोकेर सीमा क्षेत्रतर्फ जाँदै गरेको दृश्य देखाइएको थियो।
तर, ती भिडियो प्रायः पुराना, भ्रामक वा अन्य देशका घटनासँग सम्बन्धित रहेको भारतीय फ्याक्ट–चेकरहरूले पुष्टि गरिसकेका छन्। भाजपाले चुनावी अभियानकै क्रममा ‘अवैध घुसपैठ’ लाई प्रमुख राजनीतिक एजेन्डा बनाएको थियो। भारतीय गृहमन्त्री अमित शाहले भाजपा सत्तामा आए पश्चिम बंगाललाई ‘घुसपैठियामुक्त’ बनाउने बताएका थिए। नागरिकता, मतदाता सूची, सीमा सुरक्षा र अवैध आप्रवासन यसपटकको चुनावका मुख्य बहसका विषय थिए।
यद्यपि, चुनावी परिणामपछि केही क्षेत्रमा तनाव र राजनीतिक झडपका घटना भए पनि ठूलो संख्यामा रोहिंग्या वा बंगलादेशी नागरिकलाई तत्काल निष्कासन गरिएको कुनै आधिकारिक पुष्टि सार्वजनिक भएको छैन। यता काँकडभिट्टा–पानीट्यांकी नाकामा भने भारतीय सुरक्षाकर्मीले विगत धेरै वर्षदेखि नै नेपाली नागरिकको परिचयपत्र अनिवार्य रूपमा जाँच गर्दै आएका छन्।





