२७ बैशाख २०८३, आईतवार

पशुपतिमा ग्रिनेट बम भेटियो, सेनाको डिस्पोजल टोलीद्वारा निकालेर परीक्षणमा पठाइयो

काठमाडौं । पशुपतिनाथ मन्दिर क्षेत्रस्थित राम मन्दिरभन्दा माथिको जङ्गलमा भेटिएको ग्रिनेट बम नेपाली सेनाको डिस्पोजल टोलीले निकालेर परीक्षणका लागि लगेको छ ।

आइतबार बिहान ८ बजे बम भेटिएको सूचना प्रहरीले पाएको थियो । त्यसपछि सेनाको डिस्पोजल टोली घटनास्थल पुगेको थियो । काठमाडौं प्रहरी परिसरका डीएसपी कौशल बुढाथोकीले प्लास्टिकको ग्रिनेट बमजस्तो तीनवटा वस्तु भेटिएको र ती वस्तु सेनाले परीक्षणका लागि लगेको जानकारी दिए ।

बम तत्काल राखिएको नभई खिया लागिसकेको अवस्थामा भेटिएको उनको भनाइ छ । ‘अहिले बम राखिएको होइन, खिया लागिसकेको छ । करिब तीन–चार महिनाअघि राखिएको जस्तो देखिन्छ,’ डीएसपी बुढाथोकीले भने । केही सामाजिक सञ्जालमा सुकुम्बासी बस्तीमा बम भेटिएको भन्ने सूचना फैलिएको भए पनि बम सुकुम्बासी बस्तीभन्दा धेरै टाढा जङ्गलमा भेटिएको उनले स्पष्ट पारे ।

‘सुकुम्बासी बस्ती नजिक होइन, धेरै टाढा भेटिएको हो । सुकुम्बासी बस्तीबाट माथि राम मन्दिर आउँछ, त्यसभन्दा पनि करिब सय मिटर माथि जङ्गलमा उक्त वस्तु भेटिएको हो,’ उनले भने ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button