‘जेलेन्स्कीलाई रुसविरोधी भाषणको मञ्च दिनु अस्वाभाविक’ : आर्मेनियाप्रति क्रेमलिनको असन्तुष्टि

मस्को । क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले आर्मेनियाले युरोपेली सङ्घसँग शिखर सम्मेलन गर्नु आफैंमा उसको सार्वभौम अधिकार भए पनि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई रुस विरोधी अभिव्यक्तिका लागि मञ्च दिनु भने रुस–आर्मेनिया सम्बन्धको भावनासँग मेल नखाने बताएका छन्।
रुसी सरकारी टेलिभिजनका पत्रकार पाभेल जारुबिनसँगको कुराकानीमा पेस्कोभले भने, “आर्मेनियालाई जुनसुकै कार्यक्रम आयोजना गर्ने अधिकार छ, युरोपेली सङ्घसँगको शिखर सम्मेलन पनि। तर जेलेन्स्कीलाई रुस विरोधी भनाइ राख्ने मञ्च उपलब्ध गराउनुलाई हामी अस्वाभाविक ठान्छौं। यो रुस र आर्मेनियाबीचको सम्बन्धको भावनासँग मेल खाँदैन।”
पेस्कोभको यो टिप्पणीले हालैका महिनाहरूमा मस्को र येरेवानबीच देखिएको बढ्दो दूरीलाई पुनः सतहमा ल्याएको छ। आर्मेनियाले पश्चिमा मुलुकहरूसँग सम्बन्ध विस्तार गरिरहँदा रुसले भने परम्परागत मित्रतामा आँच पुग्ने गतिविधिप्रति असन्तुष्टि व्यक्त गर्दै आएको छ।





