‘दोनबासबाट सेना नहटाए वार्ताका १० चरण पनि व्यर्थ’ : युक्रेनलाई क्रेमलिनको चेतावनी

मस्को । क्रेमलिनका वरिष्ठ सल्लाहकार युरी उशाकोभले दोनबास क्षेत्रबाट युक्रेनी सेना नहटाएसम्म शान्ति वार्ताको कुनै पनि चरणले नतिजा नदिने स्पष्ट पारेका छन्। रुसी सरकारी टेलिभिजनका पत्रकार पाभेल जारुबिनसँगको कुराकानीमा उनले भने, “दोनबासबाट युक्रेनी सेना फिर्ता नभएसम्म वार्ताका १० चरण पूरा गरे पनि समाधान टुंगोमा पुग्दैन।”
उशाकोभले कीभले ढिलोचाँडो दोनबासबाट आफ्ना सेना हटाउनुपर्ने वास्तविकता बुझ्ने र त्यसो गर्ने विश्वास व्यक्त गरे। “कीभले बुझ्नैपर्छ कि उसले दोनबासबाट सेना फिर्ता गर्नुपर्छ, र उसले त्यो गर्नेछ,” उनले भने।
यो टिप्पणीले युक्रेन द्वन्द्व समाधानका लागि रुसले राख्दै आएको मुख्य सर्तलाई पुनः जोड दिएको छ। रुसले बारम्बार दोनबास र क्राइमियाप्रतिको आफ्नो दाबी दोहोर्याउँदै कुनै पनि शान्ति सम्झौताका लागि यी क्षेत्रमाथिको युक्रेनी दाबी त्याग्नुपर्ने अडान राख्दै आएको छ।





