२७ बैशाख २०८३, आईतवार

अस्पतालको आवास छाड्न कर्मचारीको अटेर, वैशाख १६ को सूचना बेवास्ता

चितवन । चीन सरकारको सहयोगमा निर्मित बिपी कोइराला स्मृति क्यान्सर अस्पतालले नियमविपरीत आवास गृहमा बसेका कर्मचारीलाई खाली गर्न जारी गरेको सूचनालाई कर्मचारीले अटेर गरेका छन्। अस्पताल प्रशासनले यही वैशाख १६ गते सूचना जारी गर्दै तत्काल आवास छाड्न निर्देशन दिएको थियो। तर, हालसम्म कसैले पनि आवास नछाडेको अस्पतालले जनाएको छ।

अस्पतालकी भण्डार प्रमुख शिला रेग्मीका अनुसार अस्पतालमा सहायकस्तर, अधिकृतस्तर र चिकित्सकका लागि छुट्टाछुट्टै आवासको व्यवस्था गरिएको छ। सहायकस्तरका कर्मचारीका लागि १० वटा घरमा ६० परिवार बस्न मिल्ने व्यवस्था छ भने अधिकृतस्तरका लागि ६ वटा घर र २० वटा भवन निर्माण गरिएको छ। यस्तै, चार परिवार बस्न मिल्ने ६ घरमध्ये दुईमा चिनियाँ कर्मचारी र चारमा अस्पतालकै अधिकृतस्तरका चिकित्सक बस्दै आएका छन्।

चिनियाँ सहयोगमा निर्मित दुई भवनमा १८ परिवार आश्रित छन् भने सहायकस्तरका कर्मचारीका लागि बनेका ३६ कोठामा पनि १८ परिवारले आश्रय लिइरहेका छन्। तर, सूचना जारी भएको दिनदेखि हालसम्म कसैले पनि आवास खाली नगरेको रेग्मीले जानकारी दिइन्।

अस्पताल प्रशासनले आपत्कालीन सेवामा परिचालन हुने चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीलाई आवास उपलब्ध गराउनु आफ्नो दायित्व र प्राथमिकता भएको जनाउँदै अस्पतालबाट २५ किलोमिटरको दूरीभित्र निजी घर भएका कर्मचारीलाई आवास सुविधा नदिने नियम रहेको स्मरण गराएको छ। सोही नियमअनुसार आवास खाली गर्न भनिए पनि कर्मचारीले अटेर गरिरहेका छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button