जनमतको समर्थन फिर्तापछि मधेशमा चार दलको बैठक : मुख्यमन्त्री यादवले विश्वासको मत लिने
जनकपुरधाम । जनमत पार्टीले सरकारबाट समर्थन फिर्ता लिएपछि मधेश प्रदेशमा सत्तारूढ चार दलले कांग्रेस नेतृत्वको वर्तमान सरकारलाई नै निरन्तरता दिने निर्णय गरेका छन्।
आइतबार बसेको नेपाली कांग्रेस, जसपा नेपाल, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र लोसपा नेपालको संयुक्त बैठकले मुख्यमन्त्री कृष्णप्रसाद यादवले यथाशीघ्र विश्वासको मत लिने निर्णयसमेत गरेको छ। चार दलले साझा विज्ञप्ति जारी गर्दै सरकारलाई नै निरन्तरता दिने जानकारी गराएका हुन्।
गत वैशाख २२ गते जनमत पार्टीले सरकारबाट आफ्नो समर्थन फिर्ता लिएको घोषणा गरेको थियो। उक्त घोषणासँगै मुख्यमन्त्री यादवले संवैधानिक प्रावधानअनुसार विश्वासको मत लिनुपर्ने भएको हो। प्रदेशसभामा कांग्रेस, जसपा, नेकपा र लोसपाको बहुमत रहेकाले मुख्यमन्त्री यादवले विश्वासको मत सहजै प्राप्त गर्ने अपेक्षा गरिएको छ।





