‘बालेनसँग सम्बन्ध बिग्रिएला भनेर मुख नमिठ्याउनु’ : सांसदलाई रविको सम्बोधन

ललितपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रधानमन्त्री एवं पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहसँग आफ्नो सम्बन्ध राम्रो रहेको बताउँदै यसबारे अनावश्यक चर्चा नगर्न आग्रह गरेका छन्।
आइतबार ललितपुरको जावलाखेलस्थित स्टाफ कलेजमा जारी सांसद प्रशिक्षण कार्यक्रममा उनले लामो सम्बोधन गर्दै अदालतमा विचाराधीन आफ्नो मुद्दादेखि पार्टीभित्रको सम्बन्धसम्मका विषय खुलाए। पत्रकारहरूसँगको कुराकानीमा उनले भने, “बालेनसँग राम्रो सम्बन्ध छ। बिग्रिएला भनेर मुख नमिठ्याउनुस्।”
रास्वपाले संसद अधिवेशन सुरु हुनुअघि शनिबार र आइतबार दुई दिने सांसद प्रशिक्षण आयोजना गरेको हो। यसअघि पनि पार्टीले रोयल टुलिप होटलमा सांसदहरूलाई प्रशिक्षण दिएको थियो। बजेट अधिवेशन सोमबारदेखि सुरु हुँदै गर्दा सांसदहरूलाई संसदीय मर्यादा, कानुन निर्माण प्रक्रिया र पार्टीको नीतिबारे जानकारी गराउन प्रशिक्षणको आयोजना गरिएको पार्टीले जनाएको छ।





