जङ्गली च्याउ खाँदा एकै परिवारका ११ बिरामी, आठ बालबालिका अस्पताल भर्ना

झापा । जङ्गली च्याउको तरकारी खाँदा बाह्रदशी गाउँपालिका–२ बुट्टाबारीका एकै परिवारका ११ जना बिरामी परेका छन्।
तेजबहादुर खवासको परिवारले आइतबार बिहानको खानामा जङ्गलबाट ल्याइएको च्याउ पकाएर खाएपछि सबै सदस्यमा स्वास्थ्य समस्या देखिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काले जानकारी दिए। बिरामी हुनेमा ५० वर्षीया कमलामाया खवास, ३१ वर्षीय डिल्ली खवास, २० वर्षीया अनिता खवास र आठ जना बालबालिका छन्।
सबै बिरामीलाई तत्काल प्रादेशिक अस्पताल भद्रपुर लगिएको थियो। प्रारम्भिक उपचारपछि नौ जनालाई दमकस्थित बाल अस्पतालमा थप उपचारका लागि पठाइएको खड्काले बताए। बिरामीमध्ये दुई जनाको अवस्था मध्यम र अन्य सामान्य रहेको प्रहरीले जनाएको छ।
यसैबीच, प्रहरीले जङ्गली च्याउ सेवन गर्दा विषाक्त हुने र गम्भीर स्वास्थ्य समस्या निम्तिन सक्ने भएकाले पहिचान नभएका च्याउ नखान सर्वसाधारणलाई आग्रह गरेको छ।





