२७ बैशाख २०८३, आईतवार

अफिम छाडेर गुलाबतिर किसान : दारा–इ–नुर बन्यो अफगानिस्तानको गुलाब हब

नङ्गरहार, अफगानिस्तान । पूर्वी अफगानिस्तानको नङ्गरहार प्रान्तस्थित दारा–इ–नुर जिल्ला तीव्र रूपमा देशको गुलाब हबका रूपमा उदाउँदै छ। मनोरम प्राकृतिक भूगोल र गुलाब खेतीका लागि उपयुक्त हावापानीका कारण यहाँका किसानहरू अफिम खेती छाडेर गुलाबतिर आकर्षित भएका छन्।

किसान अहमद सियारले सिन्ह्वासँग भने, “गुलाब खेती नाफामूलक व्यवसाय हो र अफिमको राम्रो विकल्प हो। यो व्यवसायलाई समर्थन र विकासको खाँचो छ।” आफ्नो खेतमा गुलाब टिप्दै गर्दा उनले काम र व्यवसायबाट भएको आम्दानीप्रति सन्तुष्टि व्यक्त गरे।

दारा–इ–नुरमा गुलाब सङ्कलनका लागि करिब आठ केन्द्र स्थापना भएका छन्। सियारका अनुसार यस वर्ष हालसम्म झन्डै ५० हजार किलोग्राम गुलाबको पत्ती सङ्कलन भइसकेको छ। “किसानहरूले गुलाब टिपेपछि ती पत्ती सङ्कलन केन्द्रमा लैजान्छन्। त्यहाँबाट अत्तर बनाउने कारखानामा पठाइन्छ र विदेश निर्यात गरिन्छ,” उनले बताए।

पहाडी भूभागमा रूखले ढाकिएको हराभरा तर एकान्त दारा–इ–नुर जिल्ला पछिल्ला वर्षहरूमा बढ्दो गुलाब खेती संस्कृतिका कारण लोकप्रिय हुँदै गएको छ। विकासको दृष्टिले पछि परे पनि गुलाबको सुगन्धले यो क्षेत्र छिमेकी स्थानका मानिसका लागि घुमफिर गर्ने थलो बनेको छ।

अर्का किसान नसिम खानले भने, “पहिले अफिम खेती गर्थें, अहिले गुलाब लगाउँछु। अफिमको तुलनामा राम्रो फाइदा हुन्छ, साथमा गुलाबको सुगन्ध र मन प्रफुल्लित पार्ने असर त छँदैछ।” यस्तै, किसान एहसानउल्लाह इरफानले गुलाब खेतीले धेरैलाई रोजगारीको अवसर दिएको बताए। “करिब १५ सय जना गुलाब खेतमा काम गर्छन्, पत्ती टिप्छन् र दैनिक ज्याला कमाउँछन्। उनीहरू आफ्नो आम्दानीबाट खुसी छन्,” इरफानले भने।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button