युएईमाथि इरानी आक्रमण जारी : ५५१ मिसाइल र २२ सय ड्रोन खसालियो, १० सर्वसाधारणको मृत्यु

दुबई । संयुक्त अरब इमिरेट्स (युएई) को रक्षा मन्त्रालयले आइतबार इरानबाट प्रक्षेपण गरिएका दुई ड्रोन सफलतापूर्वक खसालिएको जनाएको छ। मन्त्रालयका अनुसार यी ड्रोन हमलामा कुनै मानवीय क्षति भएको छैन।
मन्त्रालयद्वारा जारी वक्तव्यमा भनिएको छ, “इरानी आक्रमण सुरु भएयता युएईको वायु रक्षा प्रणालीले हालसम्म ५५१ ब्यालिस्टिक मिसाइल, २९ क्रुज मिसाइल र २ हजार २६५ ड्रोनलाई खसालेको छ।”
यी आक्रमणहरूमा हालसम्म २३० जना घाइते भएका छन्। घाइते हुनेमा युएई, इजिप्ट, सुडान, इथियोपिया, फिलिपिन्स, पाकिस्तान, इरान, भारत र बंगलादेशका नागरिक छन्। मन्त्रालयका अनुसार दुई सैनिकको मृत्यु भएको छ भने सशस्त्र बलसँग आबद्ध एक मोरक्कन नागरिकले पनि ज्यान गुमाएका छन्। आक्रमणमा १० सर्वसाधारणको मृत्यु भएको पुष्टि भएको छ, जसमा पाकिस्तान, नेपाल, बंगलादेश, प्यालेस्टाइन, भारत र इजिप्टका नागरिक रहेको मन्त्रालयले जनाएको छ।
रक्षा मन्त्रालयले कुनै पनि खतराको सामना गर्न र देशको सार्वभौमसत्ता, सुरक्षा तथा स्थायित्वको रक्षा गर्न सशस्त्र बल पूर्ण तयारी अवस्थामा रहेको पुनः पुष्टि गरेको छ।





