होर्मुज जलडमरूमध्यमा इरानको तीव्रगति डुङ्गाको एस्कर्ट सक्रिय, पछिल्लो २४ घण्टामा ८० भन्दा बढी डुङ्गा परिचालित

लन्डन । इरानले रणनीतिक रूपमा अति महत्वपूर्ण होर्मुज जलडमरूमध्य भएर गुज्रने जहाजहरूलाई सुरक्षित आवागमनको व्यवस्था मिलाउन तीव्रगतिका डुङ्गाको बेडा परिचालन गरेको स्याटेलाइट तस्बिर र गुप्तचर सूचनाले देखाएको छ।
लन्डनस्थित सामुद्रिक विश्लेषण कम्पनी विन्डवार्डले आइतबार सार्वजनिक गरेको विवरणअनुसार एउटा मालवाहक जहाज जलडमरूमध्य हुँदै गुज्रिरहेका बेला उसको वरिपरि तीव्रगतिका डुङ्गाहरूको एस्कर्ट समूह देखिएको थियो, जसले इरानले सुरक्षा प्रबन्ध मिलाइरहेको जनाउँछ।
कम्पनीको अनुगमन तथ्यांकअनुसार शनिबार मात्र पाँचवटा फरक फर्मेसनमा ८० भन्दा बढी तीव्रगतिका डुङ्गा उत्तरतर्फ गइरहेका थिए। सोही दिन होर्मुज हुँदै छवटा जहाज खाडी क्षेत्रमा प्रवेश गरेका थिए, जसमा दुई अति ठूलो कच्चा तेलवाहक, दुई मालवाहक र दुई तेल ट्यांकर थिए भने एउटा कच्चा तेलवाहक जहाज खाडीबाट बाहिरिएको थियो।
फाइनान्सियल टाइम्सले शनिबार प्रकाशित एक रिपोर्टमा इरानले आफ्नो दक्षिणी तटमा सयौं तीव्रगति आक्रमणकारी डुङ्गा खाडी, गुफा र सुरुङमा लुकाएर राखेको जनाएको छ। उक्त समाचारमा थप भनिएको छ, “यी साना डुङ्गाका बेडाले अमेरिकी नौसेनाको शक्तिसामु चुनौती खडा गरेको छ र प्रभावकारी नाकाबन्दीमा यिनले अभिन्न भूमिका खेलिरहेका छन्, जसले विश्व ऊर्जा आपूर्तिमा चाप पार्नुका साथै अमेरिकामाथि दबाब बढाएको छ।”





