ओमानको खाडीमा अमेरिकी एफ–३५ लडाकू विमानबाट आपत्कालीन सङ्केत, युएईतर्फ मोडियो

तेहरान । अमेरिकी वायुसेनाको एक एफ–३५ लाइटनिङ टु लडाकू विमानले आइतबार बिहान ओमानको खाडी माथि उडान भर्ने क्रममा आपत्कालीन सङ्केत प्रसारण गरेको इरानको अर्धसरकारी समाचार संस्था तस्नीमले जनाएको छ।
तस्नीमका अनुसार उक्त विमानले ‘७७००’ आपत्कालीन कोड प्रसारण गरेपछि संयुक्त अरब इमिरेट्स (युएई) तर्फ मार्ग परिवर्तन गरेको थियो र क्रमशः उचाइ घटाउन थालेको थियो। ‘७७००’ कोड विमानमा आपत्कालीन अवस्था उत्पन्न भएको सङ्केत हो।
यसअघि मंगलबार पनि खाडी क्षेत्रमा सञ्चालनमा रहेका अमेरिकी वायुसेनाका दुई विमान— एक केसी–१३५आर स्ट्राटोट्यांकर र एक बोइङ केसी–४६ पेगासस—ले सोही आपत्कालीन कोड प्रसारण गरेको तस्नीमले उल्लेख गरेको छ।
उडान अनुगमन तथ्यांक र क्षेत्रीय रिपोर्ट उद्धृत गर्दै तस्नीमले जनाएअनुसार खाडी र होर्मुज जलडमरूमध्यमाथि उडान भर्ने क्रममा केसी–१३५ स्ट्राटोट्यांकरमा आपत्कालीन अवस्था उत्पन्न भई सङ्कट सङ्केत प्रसारण गरेको थियो र त्यसपछि उक्त विमान रडारबाट गायब भएको थियो। केसी–४६ पेगाससले भने साउदी अरबको वायु क्षेत्र हुँदै इजरायलको तेल अभिभ फर्किने क्रममा सो सङ्केत प्रसारण गरेको तस्नीमको भनाइ छ।





