२७ बैशाख २०८३, आईतवार

रुस र लाओसका राष्ट्रपतिबीच मस्कोमा भेट, द्विपक्षीय व्यापार दोब्बर भएको उल्लेख

मस्को । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले लाओसका राष्ट्रपति थोङलुन सिसोलिथसँग विजय दिवस समारोहका अवसरमा मस्कोमा भेटवार्ता गरेका छन्। सिसोलिथ दोस्रो पटक मस्कोको विजय दिवस समारोहमा सहभागी हुन आएका हुन्।

भेटका क्रममा राष्ट्रपति पुटिनले सिसोलिथलाई पुनः राष्ट्रपतिमा निर्वाचित भएकोमा बधाई दिँदै उनको व्यापक राजनीतिक अनुभवले लाओसको सामाजिक–आर्थिक विकास र अन्तर्राष्ट्रिय मामिलामा रचनात्मक भूमिका निर्वाह गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे। नयाँ राष्ट्रपतिकालको पहिलो विदेश भ्रमण नै रुस हुनुले दुई देशबीचको सम्बन्धको गहिराइ झल्काएको पुटिनले बताए।

रुस र लाओसबीचको सम्बन्ध मित्रता, पारस्परिक सम्मान र विश्वासमा आधारित रहेको उल्लेख गर्दै पुटिनले गत वर्ष कूटनीतिक सम्बन्ध स्थापनाको ६५ वर्ष पूरा भएको स्मरण गराए। दुई देशबीचको व्यापारमा सकारात्मक प्रवृत्ति देखिएको र सन् २०२४ को तुलनामा गत वर्षको अन्त्यसम्ममा व्यापारको मात्रा दोब्बर भएको पुटिनले जानकारी दिए। समग्र व्यापारको आकार सामान्य भए पनि प्रवृत्ति सकारात्मक रहेको उनको भनाइ थियो। व्यापार तथा आर्थिक सम्बन्ध प्रवर्द्धनमा अन्तरसरकारी आयोगले महत्त्वपूर्ण भूमिका खेलिरहेको उनले बताए।

दुई देशले अन्तर्राष्ट्रिय मञ्चहरूमा सक्रिय रूपमा सहकार्य गरिरहेको र लाओसले सङ्घाई सहयोग सङ्गठनमा संवाद साझेदारको रूपमा प्रवेश गरेपछि नयाँ सहकार्यका ढोका खुलेको पुटिनले उल्लेख गरे। सिसोलिथको भ्रमणको कार्यक्रम व्यस्त रहेको र उनको रुस बसाइ फलदायी तथा रोचक हुने विश्वास पुटिनले व्यक्त गरे।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button