२७ बैशाख २०८३, आईतवार

अब बेइजिङको सबवेमा साइकल लैजान पाइने, चार लाइनका ११ स्टेसनमा पाइलट सेवा सुरु

बेइजिङ । चीनको राजधानी बेइजिङमा साइकलप्रेमीको सङ्ख्या र अन्तरजिल्ला सवारीको माग बढ्दै गएपछि आइतबारदेखि सबवे रेलमा यात्रुले साइकल लैजान पाउने पाइलट सेवा सुरु गरिएको छ।

बेइजिङ नगरपालिका यातायात आयोगका अनुसार आइतबारदेखि लाइन ६, लाइन १७, छाङफिङ लाइन र एस१ लाइन गरी चार लाइनका ११ पाइलट स्टेसनहरूमा यात्रुले २८ इन्च (करिब ७१ सेन्टिमिटर) सम्मको पाङ्ग्रा व्यास भएको एक सिटे मानवीय शक्तिबाट चल्ने दुईपाङ्ग्रे साइकल सबवे रेलमा लैजान सक्नेछन्।

आयोगले यी लाइन र स्टेसनको छनोट स्थानीय साइकल क्लबहरूसँगको परामर्शपछि साइकलप्रेमीको आवश्यकता बुझ्न, रेल ट्रान्जिट यात्रु सङ्ख्या र स्टेसन पूर्वाधारको अनुकूलतालाई समेत ध्यानमा राखेर गरिएको जनाएको छ। यी स्टेसनहरू बेइजिङका बाहिरी उपनगरीय क्षेत्रका कैयौं साइकल मार्गसँग जोडिएका छन्।

यो पाइलट सेवा शनिबार र आइतबारको सबै सञ्चालन समयमा उपलब्ध हुनेछ भने साताका सामान्य दिन र सार्वजनिक बिदामा बन्द रहनेछ। प्रतियात्रा शुल्क ३० युआन (करिब ४.३८ अमेरिकी डलर) तोकिएको छ, जसमा एक यात्रु र एक साइकलको लागि यात्राको दिन पाइलट लाइनमा एक पटकको यात्रा समावेश छ। बेइजिङको रेल ट्रान्जिटमा प्रवेश गर्न क्यूआर कोड स्क्यान गर्न प्रयोग हुने ‘इथोङसिङ’ एपमार्फत टिकट खरिद गर्न सकिनेछ।

सञ्चालन सुरक्षा र रेलभित्र राम्रो व्यवस्था कायम राख्न सञ्चालक कम्पनीहरूले कडा नियम बनाएका छन्। जसमा सबै प्रकारका विद्युतीय साइकल र पावर यन्त्र भएका अन्य सवारीसाधनलाई स्टेसनमा प्रवेशमा प्रतिबन्ध लगाइएको छ। साथै, बेइजिङ रेल ट्रान्जिट सञ्जालभित्र यात्रुले पाइलटबाहेकका लाइनमा स्वतन्त्र रूपमा स्थानान्तरण गर्न वा पाइलटबाहेकका स्टेसनबाट प्रवेश वा निस्कन पाउने छैनन्। सबवे स्टेसन र रेलभित्र साइकल चलाउन वा स्केटिङ गर्न, साइकल अव्यवस्थित रूपमा पार्किङ गर्न, यात्रु आवागमनको मार्ग अवरुद्ध गर्न वा आपत्कालीन निकास मार्ग अवरोध गर्न पनि रोक लगाइएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button