कोहलपुरमा अतिक्रमण हटाउने अभियान जारी, दोस्रो दिन १०८ घरटहरा भत्काइए

कोहलपुर (बाँके) । कोहलपुर नगरपालिकाले सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण गरी निर्माण गरिएका घरटहरा हटाउने अभियानलाई आइतबार दोस्रो दिन पनि निरन्तरता दिएको छ ।
नगरपालिकाका अनुसार कोहलपुर नगरपालिका–११ स्थित कोहलपुर नगर विकास समितिको स्वामित्वमा रहेको जग्गामा अतिक्रमण गरी बनाइएका १०८ घरटहरा हटाइएको छ । शनिबारदेखि सुरु भएको अभियानअन्तर्गत नगर विकास समितिको कोहलपुर ३ (ख) को करिब ३६ बिघा क्षेत्रफलमा रहेको अतिक्रमित बस्ती हटाउन थालिएको हो । विशेष गरी क्रिकेट मैदान आसपासको क्षेत्रमा वर्षौंदेखि बनाइएका अस्थायी तथा स्थायी संरचना भत्काइएको छ । शनिबार ४० घरटहरा हटाइएको थियो ।
कोहलपुर नगरपालिकाका नगर प्रहरी प्रमुख वीरबहादुर थापाले पूर्वसूचना तथा समयसीमा दिएरै अतिक्रमण हटाउने प्रक्रिया अघि बढाइएको बताए । ‘वैशाख १६ गते नै १० दिने अल्टिमेटम जारी गरेर अतिक्रमित क्षेत्र खाली गर्न अनुरोध गरिएको थियो,’ उनले भने, ‘अधिकांश नागरिकले आफैं सरसामान सार्ने काम गरिरहनुभएको छ । हामीले पूर्ण रूपमा खाली गरिएका संरचना मात्र हटाएका छौं ।’
उनका अनुसार स्थानीय प्रशासन, जनप्रतिनिधि, नगर प्रहरी र सुरक्षाकर्मीको उपस्थितिमा अभियान सञ्चालन गरिएको हो । विस्थापित परिवारका लागि नगरपालिकाले अस्थायी बसोबासको व्यवस्था गर्दै ‘होल्डिङ सेन्टर’ सञ्चालनमा ल्याएको छ । शनिबार ७३ घरधुरीले सेन्टरमा बस्न फाराम भरेकोमा हाल ५४ परिवारका २०८ जना त्यहाँ बसिरहेको नगरपालिकाले जनाएको छ ।
नगर प्रहरी प्रमुख थापाले वास्तविक भूमिहीन र सुकुम्वासीको पहिचान प्रक्रिया पनि सँगसँगै अगाडि बढाइएको जानकारी दिए । ‘सार्वजनिक जग्गामा बसोबास गर्दै आएका सबै नागरिक सुकुम्वासी होइनन्,’ उनले भने, ‘त्यसैले नगरपालिकाले वास्तविक भूमिहीन दलित र भूमिहीन सुकुम्वासीको पहिचान गर्न प्रक्रिया अघि बढाएको छ ।’ नगरपालिकाका अनुसार गत वर्ष सो क्षेत्रमा बसोबास गर्ने ७५१ परिवारले आफूलाई भूमिहीन तथा सुकुम्वासी भन्दै फाराम भरेका थिए ।





