२८ बैशाख २०८३, सोमबार

नीति तथा कार्यक्रम आजै, संसदको बजेट अधिवेशन सुरु हुँदै

काठमाडौं । सङ्घीय संसदको बजेट अधिवेशन आजदेखि सुरु हुँदै छ। अधिवेशनको पहिलो दिन नै राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

संसद सचिवालयका अनुसार राष्ट्रपति पौडेलले अपराह्न ४ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकलाई सम्बोधन गर्दै संविधानको धारा ९५ बमोजिम सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन्। संयुक्त बैठकमा दिउँसो ३ः४५ बजे अगावै उपस्थित हुन सचिवालयले दुवै सदनका सदस्यहरूलाई सूचित गरेको छ।

यसअघि दिउँसो २ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाका बैठक छुट्टाछुट्टै सुरु हुनेछन्। प्रतिनिधिसभाको बैठकमा राष्ट्रपतिबाट अधिवेशन आह्वानसम्बन्धी पत्रबारे जानकारी दिने, मन्त्रिपरिषदको हेरफेरसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त सूचनाबारे सदनलाई अवगत गराउने सम्भावित कार्यसूची छ। साथै, सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यहरूको मनोनयन, प्रतिनिधिसभा नियमावली, २०७९ को नियम २६० बमोजिम जारी भएको बाधा अड्काउ फुकाउ अनुमोदनका लागि पेस हुनेछ।

यस्तै, सरकारबाट जारी भएका विभिन्न ८ वटा अध्यादेश पनि प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै बैठकमा पेस हुने सचिवालयले जनाएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button