दुई दिनमा आठ लागुऔषध प्रयोगकर्ता पक्राउ, वीरगञ्जको शङ्कराचार्य गेटबाट खैरो हिरोइनसहित समातिए
वीरगञ्ज । पर्सा प्रहरीले लागुऔषध सेवनकर्ता खोजी तथा सुधार महाअभियानअन्तर्गत दुई दिनमा आठ जना लागुऔषध प्रयोगकर्तालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता हरिबहादुर बस्नेतका अनुसार शुक्रबार र आइतबार सञ्चालित अभियानका क्रममा वीरगञ्ज महानगरपालिका–१६ स्थित शङ्कराचार्य गेट चेक प्वाइन्टबाट उनीहरूलाई पक्राउ गरिएको हो। भारतको रक्सौलबाट पैदल तथा सवारीसाधनमा आउँदै गरेका उनीहरूको साथबाट लागुऔषध खैरो हिरोइन, प्रतिबन्धित ट्याब्लेटलगायत बरामद भएको छ।
पक्राउ पर्नेमा ठेगाना नखुलेका विकासकुमार साह र कविन पराजुलीको साथबाट ६००/६०० मिलिग्राम खैरो हिरोइन बरामद भएको छ। सागर घिमिरे, पूजा जिम्वा, अञ्जन थापा, रमेश बम्जन, राजु बनियाँ र अलिहदन मियाँको साथबाट भने थोरै परिमाणको खैरो हिरोइन र प्रतिबन्धित ट्याब्लेट बरामद गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेकाहरूविरुद्ध जिल्ला अदालत पर्साबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रवक्ता बस्नेतले बताए। उक्त क्रममा मधेस प्रदेश ०३–०२८ प ७६५६ नम्बरको मोटरसाइकलसमेत बरामद भएको प्रहरीले जनाएको छ।





