बनेपाको होल्डिङ सेन्टरमा सुकुम्वासीको पीडा, ‘खान त खाउँला, रोजगारीको के विकल्प?’

बनेपा (काभ्रे) । काठमाडौं उपत्यकाका विभिन्न सुकुम्वासी बस्तीबाट विस्थापित भएकाहरूलाई काभ्रेको बनेपा ल्याइएको छ। थापाथली, गैरीगाउँ, मनोहरा, शङ्खमुल, बोक्सीघाट र प्रयागघाटलगायत स्थानबाट विस्थापित ११० जनालाई बनेपा–६ स्थित नेपाल रेडक्रस सोसाइटीको प्रशिक्षण केन्द्रमा राखिएको छ।
पटकपटक सर्नुपरेपछि होल्डिङ सेन्टरमा रहेका सुकुम्वासीहरू चिन्तित देखिन्छन्। उनीहरूको साझा प्रश्न छ, ‘सरकारले खान र बस्न त देला, तर दिनभरि के काम गर्ने? परिवारको गुजारा सधैं कसरी चलाउने? रोजगारीका लागि के छ विकल्प?’
काठमाडौं–९ प्रयागघाट सुकुम्वासी बस्तीका टेकबहादुर थापाले खानभन्दा पनि बासको समस्या रहेको गुनासो गरे। माछापोखरीस्थित एक होटलमा ११ दिन बसेर बनेपा आइपुगेका उनले भने, ‘खान त दिनभरि काम गरेर खाउँला, तर बास ठाउँठाउँमा सार्नुभन्दा कहाँ बस्ने भन्ने सरकारले तय गरिदियोस्।’
३० वर्षदेखि थापाथली बस्दै आएकी धनुषाकी बीमादेवी झाको पनि उस्तै गुनासो छ, ‘सरकारले चाँडो छानबिन गरिदियोस्, गरिबको उद्धार गरोस्।’
काठमाडौं–९ को बस्तीमा बस्दै आएकी मनकुमारी सार्कीको समस्या अलि फरक छ। विस्थापित हुनुअघि उनी ठेकेदारमार्फत कुचो लगाउने, फूल गोड्नेलगायत काम गर्थिन्। अहिले उनको काम छुटेको छ। ‘ठेकेदारले बोलाउँछ, तर म जान सकेको छैन। एक त समयले भ्याइँदैन, अर्को पैसा छैन। झन् बनेपाबाट काठमाडौं पुग्न नै दुई घण्टा लाग्दो रहेछ,’ उनले गुनासो गरिन्।
थापाथलीमा बस्दै आएकी २० वर्षीया अन्जली कुमारी महतोलाई चिकित्सकले वैशाख दोस्रो साता सुत्केरी हुने समय दिएका थिए। तर, वैशाख १२ मा घरमै डोजर चल्यो। सकिनसकी सामान व्यवस्थापन गरेकी उनलाई सुरुमा बालाजुको होल्डिङ सेन्टर पुर्याइयो। ‘त्यहाँ पुगेपछि सुत्केरी व्यथा लाग्यो, परिवारले नै अस्पताल लग्यो,’ उनले भनिन्, ‘१४ वैशाखमा छोरी जन्मिइन्।’
सुत्केरी अन्जली केही दिन अस्पताल बसेर पुनः बालाजुको होल्डिङ पुगेकी थिइन्। चार दिनअघि उनलाई पनि बालाजुबाट बनेपा ल्याइएको छ। ‘अप्रेसन भएको ज्यान कहिले कता, कहिले कता सारिरहेका छन्, सर्ने क्रममा अप्रेसन गरेको ठाउँ साह्रै दुख्छ,’ उनले दुखेसो पोखिन्। पर्याप्त स्तनपान नहुँदा बच्चालाई समस्या भइरहेको र पोषण नपुगेर बच्चा कमजोर हुने चिन्ता उनमा छ। भर्खरै जन्मिएकी दूधे बालकलाई तेल लगाउन पनि धौ–धौ भएको उनले बताइन्।
बनेपाको होल्डिङ सेन्टरमा पुगेका बालबालिका पढाइ छुटेकोमा चिन्तित छन्। ११० जनामध्ये २८ जना विद्यार्थी रहेकोमा विद्यालय जाने टुङ्गो नहुँदा चिन्ता थपिएको छ। गुह्यश्वरी बाल शिक्षा माध्यमिक विद्यालयमा कक्षा ३ मा पढ्दै गरेकी राधिका महतो भन्छिन्, ‘हामीलाई बालाजुबाट बनेपा ल्याएको छ, स्कुल खुले पनि पढ्न जान पाइएन।’
१३ वर्षीय रोहन परियारलाई पनि पढाइ बिग्रिने चिन्ता छ। नयाँ शैक्षिक सत्र सुरु भएको दुई साता हुन लाग्दासम्म अझै भर्नाको टुङ्गो नहुँदा उनीहरूमा चिन्ता थपिएको छ। ‘हामीलाई कहिले कहाँ, कहिले कहाँ लिएर जाँदा पढाइ झन् बिग्रिने भयो, जहाँ लगे पनि हामीले पढ्न पाउनुपर्छ,’ रोहनले भने।
बनेपाको होल्डिङ सेन्टरमा १६ वर्षमुनिका २६ जना, १६–४० वर्षका ३४ जना, ४०–६० वर्षका ३१ जना र ६० वर्षमाथिका १९ जना गरी कूल ११० जना रहेकोमा १४ दिनको नाबालक, एक बौद्धिक अपाङ्ग, एक दृष्टिविहीन र एक ८० वर्षीय वृद्धसमेत रहेका छन्। सरकारले रोजगारीको व्यवस्था मिलाइदिनुपर्ने उनीहरूको माग छ।





