आँखामा कीरा परेपछि मिच्दा अन्धो हुने खतरा, चिकित्सकको सुझाव: यसो गर्नुहोस्

काठमाडौं । आँखामा सानो कीरा छिरेको झिँजो लागेपछि धेरैले तुरुन्तै मिच्ने गर्छन्। तर, यसले गम्भीर क्षति पुर्याउन सक्ने चिकित्सकहरू बताउँछन्।
चीनको फुजियान प्रान्तका एक व्यक्ति साइकल चलाउँदै जाँदा अचानक आँखामा सानो कीरा परेको थियो। उनले तुरुन्तै हातले आँखा मिचे। केही समयपछि असहजता कम भयो। तर, त्यसको केही दिनपछि उनको आँखा रातो भयो, दुख्न थाल्यो, उज्यालोमा हेर्न गाह्रो भयो र आँखाबाट पानी बग्न थाल्यो। अस्पताल गएर जाँच गर्दा उनलाई ब्याक्टेरियल कोर्नियल अल्सर भएको पुष्टि भयो र आँखाको दृष्टि ०.०४ मात्र रहेको पाइयो—अर्थात् उनी लगभग अन्धा हुने अवस्थामा पुगेका थिए।
चिकित्सकका अनुसार यो गम्भीर अवस्था एउटा सानो कीरा आँखामा परेपछि हातले जोडले मिच्नाले भएको थियो। कीराको शरीरमा सूक्ष्म जीवाणु र ब्याक्टेरिया हुन्छन्। आँखामा परेको कीरा हातले मिच्दा कीराको शरीरभित्रको विषाक्त पदार्थ वा टुक्रिएको कीराको भागले आँखाको सतहमा प्रत्यक्ष रूपमा घाउ बनाएर सूक्ष्म जीवाणु प्रवेश गर्ने मौका दिन्छ।
आँखा दुख्ने, पोल्ने, रातो हुने, उज्यालो सहन नसक्ने, आँखाबाट पानी बग्ने, धेरै कचेरा आउने, दृष्टि धमिलो हुने, आँखाको सतहमा सेतो धब्बा देखिनेजस्ता लक्षण देखिएमा तुरुन्तै अस्पताल जानुपर्ने चिकित्सकहरूको सुझाव छ।

आँखामा कीरा परे के गर्ने?
चिकित्सकका अनुसार आँखामा सानो कीरा परेमा आत्तिनु हुँदैन। हातले आँखा नमिच्ने र निम्न चरण पालना गर्न सुझाव दिइएको छ:
१. बिस्तारै आँखा झिम्काउने : कीरा परेपछि शान्त रही हातले जोडले नमिची बिस्तारै आँखा झिम्काउने गरेमा आँसु बगेर कीरा आँसुसँगै बाहिर निस्कन सक्छ।
२. तुरुन्तै आँखा धुने : यदि आँखा झिम्काउँदा पनि असहजता रहेमा सफा पानी वा नुनपानीले आँखा धुनुपर्छ। आँखा धुँदा आँखाको ढकनीलाई बिस्तारै घुमाएर पानीले आँखाको बाहिरी सतहमा रहेका अन्य वस्तु सफा गर्नुपर्छ।
३. चाँडो उपचार गराउने : यदि आँखा धोएपछि पनि असहजता रहने, दुखाइ बढ्ने, उज्यालो सहन नसक्नेलगायत लक्षण रहेमा तुरुन्तै आँखा अस्पताल गई विशेषज्ञ चिकित्सकको परामर्श र उपचार लिनुपर्छ। आफूखुसी औषधि हाल्नु हुँदैन।
चिकित्सकहरू भन्छन्, ‘हातले आँखा बिगार्छ’ भन्ने उक्ति सार्थक छ। कीरा मात्र होइन, अरू कुनै पनि वस्तु आँखामा परेमा हातले मिच्नु हुँदैन। सानो समस्या सम्झेर उपचारको समय नगुमाउन आग्रह गर्दै चिकित्सकहरूले ढिलाइ गरे पछुताउनुपर्ने अवस्था आउन सक्ने चेतावनी दिएका छन्।





