चीनद्वारा मालवाहक अन्तरिक्षयान थ्यान्चौ–१० को सफल प्रक्षेपण, थ्यानकङ स्टेसनका लागि आपूर्ति पठाइयो

वन्छाङ (चीन) । चीनले सोमबार बिहान हाइनान प्रान्तको वन्छाङ अन्तरिक्ष प्रक्षेपण केन्द्रबाट मालवाहक अन्तरिक्षयान थ्यान्चौ–१० को सफल प्रक्षेपण गरेको छ। चीन मानव अन्तरिक्ष एजेन्सी (सीएमएसए) का अनुसार उक्त अन्तरिक्षयानले पृथ्वीको तल्लो कक्षमा परिक्रमारत चीनको थ्यानकङ अन्तरिक्ष स्टेसनका लागि आवश्यक इन्धन, खाद्यान्न, वैज्ञानिक उपकरण तथा अन्य अत्यावश्यक सामग्रीहरूको आपूर्ति गर्नेछ।
प्रक्षेपणको केही समयपछि नै थ्यान्चौ–१० आफ्नो निर्धारित कक्षमा स्थापित भएको र यसका सौर्य प्यानलहरू सफलतापूर्वक खुलेको एजेन्सीले जनाएको छ। यो अन्तरिक्षयानले केही घण्टाभित्रै थ्यानकङ स्टेसनको मुख्य मोड्युलसँग स्वचालित रूपमा जोडिने प्रक्रिया पूरा गर्नेछ।
थ्यान्चौ शृङ्खलाको यो दसौं मालवाहक अन्तरिक्षयान हो। चीनले सन् २०२१ मा थ्यानकङको मुख्य मोड्युल प्रक्षेपण गरेसँगै अन्तरिक्ष स्टेसन निर्माण सुरु गरेको थियो। हाल तीन जना अन्तरिक्षयात्री थ्यानकङमा कार्यरत रहेको एजेन्सीले जनाएको छ।





