२८ बैशाख २०८३, सोमबार

अचेन हिमनदी क्षेत्रमा यस वर्षको पहिलो चिरु बसाइँसराइ सुरु

अचेन (छिङ्हाई) । सान्च्याङयुआन राष्ट्रिय निकुञ्जको अचेन हिमनदी व्यवस्थापन कार्यालयअन्तर्गतको उताओलियाङ संरक्षण क्षेत्रमा यही मे ७ का दिन अपराह्न ५ बजेर २२ मिनेटमा यस वर्षको पहिलो चिरु समूह आँधीहुरीका बीच प्रवेश गरेको छ। यससँगै सन् २०२६ को चिरु बसाइँसराइ औपचारिक रूपमा सुरु भएको छ।

चिरुको गृष्मकालीन बसाइँसराइलाई सुरक्षित बनाउन अचेन हिमनदी व्यवस्थापन कार्यालयले चिरु आवागमनको मार्गमा पर्ने केही क्षेत्रमा गस्ती तथा अनुगमन गर्नुका साथै उताओलियाङ संरक्षण क्षेत्रमा अस्थायी यातायात प्रतिबन्ध र हर्न निषेधजस्ता उपाय अवलम्बन गरेको छ। चिरु समूह सुरक्षित रूपमा राजमार्ग पार गरी गृष्मकालीन बसाइँको मार्गमा निर्बाध अघि बढ्न सकोस् भनी कार्यालयले मार्गको जानकारी, समय, सङ्ख्या तथा सम्बन्धित तथ्याङ्कको अनुगमन र विश्लेषण गर्नुका साथै चिरु संरक्षण क्षेत्रमा कर्मचारी खटाई चिरुका बच्चाको हेरचाह र संरक्षणको व्यवस्था मिलाएको छ।

लामो समयदेखि सान्च्याङयुआन राष्ट्रिय निकुञ्जको अचेन हिमनदी व्यवस्थापन कार्यालयले प्रभावकारी उपाय अपनाउँदै चिरु र तिनको वासस्थानको पारिस्थितिक प्रणालीको संरक्षणलाई निरन्तर सुदृढ गर्दै आएको छ। हाल अचेन हिमनदी क्षेत्रमा चिरुको सङ्ख्या ७० हजारभन्दा माथि पुगेको छ र तिनीहरू छिङ्हाई–तिब्बत राजमार्गमा एक सुन्दर दृश्यका रूपमा स्थापित भएका छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button