हान्टाभाइरस सङ्क्रमित डच जहाजका एक अमेरिकी यात्रुमा पुष्टि, अर्कामा लक्षण

वासिङ्टन । हान्टाभाइरस सङ्क्रमण फैलिएको डच क्रुज जहाज एमभी होन्डियसका एक अमेरिकी यात्रुमा सो भाइरसको सङ्क्रमण पुष्टि भएको छ भने अर्का एक जनामा सामान्य लक्षण देखिएको छ। अमेरिकी स्वास्थ्य तथा मानव सेवा विभागले आइतबार यो जानकारी दिएको हो।
विभागले सामाजिक सञ्जाल एक्समा दिएको जानकारी अनुसार उक्त जहाजमा सवार सबै १७ अमेरिकी नागरिकलाई हवाई मार्गबाट अमेरिका ल्याइँदै छ। अत्यधिक सावधानी अपनाउँदै सङ्क्रमित यात्रुलाई विमानको जैविक नियन्त्रण इकाइमा राखेर ल्याइनेछ।
उक्त हवाई उद्धारले यात्रुहरूलाई पहिले नेब्रास्काको ओमाहास्थित युनिभर्सिटी अफ नेब्रास्का मेडिकल सेन्टरको क्षेत्रीय उदीयमान विशेष रोगजनक उपचार केन्द्रमा लैजानेछ। त्यसपछि सामान्य लक्षण भएका यात्रुलाई उनको अन्तिम गन्तव्यस्थलमा रहेको अर्को उपचार केन्द्रमा स्थानान्तरण गरिने विभागले जनाएको छ।
विभागका अनुसार शनिबारसम्म उक्त प्रकोपसँग सम्बद्ध आठ जनामा सङ्क्रमणको आशङ्का गरिएको थियो भने तीन जनाको मृत्यु भइसकेको छ। रोग नियन्त्रण तथा रोकथाम केन्द्रका अनुसार हान्टाभाइरसको सङ्क्रमण भएको एकदेखि आठ साताभित्र लक्षण देखिन सक्छ। यो रोग सामान्यतया मुसाजस्ता जनावरबाट सर्ने भए पनि दुर्लभ अवस्थामा एक व्यक्तिबाट अर्कोमा पनि सर्न सक्छ। सङ्क्रमितमध्ये एक तिहाइभन्दा बढीको मृत्यु हुने गर्छ।





