गुन्डुमा गोप्य भेट : ओलीलाई भेट्न पूर्वराष्ट्रपति भण्डारी पुगिन्, वाम एकताको चर्चा तात्यो

भक्तपुर । पित्तथैलीको शल्यक्रियापछि निवासमै स्वास्थ्य लाभ गरिरहेका एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी गुन्डु पुगेकी छन्। दुई नेताबीचको यो भेटले वाम राजनीतिमा नयाँ तरंग ल्याएको छ।
हिजो दिउँसो करिब १ बजे भण्डारी ओली निवास पुगेकी थिइन्। दुई नेताबीच के विषयमा कुराकानी भयो भन्नेबारे कसैले पनि केही बताएका छैनन्। तर, फागुन २१ को निर्वाचनमा अप्रत्याशित हार बेहोरेपछि र सरकारको निसानामा परेपछि ओली कम्युनिस्ट एकताको पक्षमा नरम बन्दै गएको चर्चाबीच भएको यो भेटलाई वाम वृत्तले निकै चासोका साथ हेरेको छ।
स्रोतका अनुसार ओलीको नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डसँग प्रत्यक्ष भेट नभए पनि नियमितजस्तै फोन संवाद भइरहेको छ। ओलीले दुवैतर्फको केन्द्रीय कमिटी भंग गरी छिटो पार्टी एकता गर्ने प्रस्ताव प्रचण्डसमक्ष राखेको स्रोतको दाबी छ।
यता, पछिल्ला दिनमा प्रचण्डबाट पनि सोही आशयका अभिव्यक्तिहरू सार्वजनिक हुन थालेका छन्। हिजो निर्मल लामा स्मृति दिवसको कार्यक्रममा उनले नेपालबाट वामपन्थीहरूलाई सखाप पार्न देशी–विदेशी प्रतिक्रियावादी शक्तिहरू लागिपरेको दाबी गर्दै एमालेसँग पार्टी एकताको आधार बन्दै गएको धारणा राखेका थिए।
भूतपूर्व राष्ट्रपति भण्डारी र ओलीबीचको यो भेटवार्ताले एमाले र माओवादी केन्द्रबीच पुनः एकताको सम्भावनालाई थप बल पुगेको वाम राजनीतिका जानकारहरूको बुझाइ छ। यद्यपि, दुवै पार्टीका दोस्रो तहका नेताहरू भने यो विषयमा खुलेर बोल्न तयार देखिँदैनन्।





