चन्द्रमाको माटोमा नयाँ खोज : चार अर्ब वर्षदेखिको ढुङ्गाको इतिहास भेटियो

बेइजिङ । चिनियाँ वैज्ञानिकहरूले चन्द्रमाको माटोको अध्ययनबाट एउटा महत्वपूर्ण खोज गरेका छन्। चाङ–६ अभियानले ल्याएको चन्द्रमाको नमुनामा सूक्ष्म उल्कापिण्डका प्रहारका चिह्नहरू फेला परेका छन्, जसले सौर्यमण्डलको प्रारम्भिक इतिहासबारे नयाँ तथ्य उजागर गरेको छ।
चिनियाँ विज्ञान प्रतिष्ठानको भूगर्भ तथा भौतिक अनुसन्धान संस्थानका अनुसन्धानकर्ता लिन याङथेनको टोलीले चाङ–६ को चन्द्रमाटोको विस्तृत विश्लेषण गरेको थियो। अध्ययनका क्रममा टोलीले चन्द्रमाको सतहमा कार्बनयुक्त सूक्ष्म उल्कापिण्डको प्रहार भएको ऐतिहासिक प्रमाण फेला पारेको छ।
अनुसन्धानले के देखाएको छ भने, कार्बनयुक्त सूक्ष्म उल्कापिण्डले पृथ्वी–चन्द्रमा प्रणालीमा प्रहार गरेको समय पहिले अनुमान गरिएकोभन्दा पछिल्लो रहेको छ। चन्द्रमाको सतह सौर्यमण्डलको एउटा ‘सुरक्षित अभिलेखालय’ जस्तै हो, जहाँ करिब चार अर्ब वर्षको उल्का प्रहारको पूर्ण इतिहास सुरक्षित छ।
वैज्ञानिकहरूले चाङ–६ को चन्द्रमाटोमा ४० वटा साना धातुका टुक्रा फेला पारेका छन्। ती टुक्रा दुई प्रकारका छन्— एक प्रकार करिब २८ अर्ब वर्ष पुरानो चन्द्र सतहको ज्वालामुखी चट्टानबाट आएको र त्यसपछिका सूक्ष्म उल्का प्रहारका छाप बोकेको छ भने अर्को प्रकार त्योभन्दा पुरानो चन्द्र उच्चभूमिबाट आएको हो, जसले करिब ४३ अर्ब वर्ष पुरानो प्रहारको अनुमान गर्न सकिन्छ।
अध्ययनले के पनि देखाएको छ भने कार्बनयुक्त सूक्ष्म उल्कापिण्डमा पानी र जैविक पदार्थ प्रशस्त मात्रामा पाइन्छ। यसलाई पहिले पृथ्वीको प्रारम्भिक पानी र जीवनका तत्वको मुख्य स्रोत मानिन्थ्यो। तर, यसपटकको अध्ययनले कार्बनयुक्त सूक्ष्म उल्कापिण्डले पृथ्वी–चन्द्रमा प्रणालीमा प्रहार गरेको समय तुलनात्मक रूपमा ढिलो रहेको र त्यतिबेला सूक्ष्म उल्कापिण्डको प्रहार दर न्यून रहेको देखाएको छ। यसले तिनले पृथ्वी–चन्द्रमा प्रणालीमा पानी र जैविक तत्वको आपूर्तिमा सीमित मात्रामा योगदान गरेको सङ्केत गर्छ।
भविष्यमा थप चन्द्र अन्वेषण अभियानहरूसँगै वैज्ञानिकहरूले सौर्यमण्डलको प्रहार इतिहासबारे अझ बढी जानकारी पाउने अपेक्षा गरिएको छ।





