प्रधानमन्त्रीद्वारा संसदीय मर्यादाको धज्जी उडाइयाे, पत्रकार श्रेष्ठको प्रश्न: ‘ताली कसले बजाउने ?’

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले संसद्को संयुक्त बैठकमा आफ्नै सरकारको नीति तथा कार्यक्रम प्रस्तुतिका क्रममा बीचैमा उठेर सदन छाडेपछि सामाजिक सञ्जालदेखि राजनीतिक वृत्तसम्म तीव्र बहस सुरु भएको छ। वरिष्ठ पत्रकार किशोर श्रेष्ठले फेसबुकमा प्रधानमन्त्रीको तस्बिरसहित लेखेको एक पोस्टले यो बहसलाई झन् मुखरित गरेको छ।
पत्रकार श्रेष्ठले लेखेका छन्, “प्रधानमन्त्री स्वयंले आफ्नो सरकारको नीति तथा कार्यक्रमको जिम्मा नलिई बीचैमा उठेर हिँडिदिएपछि रास्वपा, जनता र मतदाताले मात्रै सोको समर्थनमा किन झ्यामझ्याम ताली बजाउने! संसदको बहसमा यो चिज एकदम राम्रो छ भनी भोलिदेखि कसरी प्रतिरक्षा गर्ने?”
उनले संसदीय मर्यादा र अनुशासनका विषयमा पनि गम्भीर प्रश्न उठाएका छन्। “सारा माननीयलाई संसदमा थुपारेर वरिष्ठ नेता आफूचाहिँ आराम गर्न दिउँसै निवास पस्न थालेपछि दौरा, सुरुवाल, सारी, चोलोमा सजिएर बेलैमा सिंहदरबारमा थुप्रने माननीयहरूलाई भोलिदेखि किन ड्रेस कोडमा कैद हुन ह्विप लगाउने?” उनको प्रश्न छ।
श्रेष्ठले प्रधानमन्त्रीको शैली र प्राथमिकतामाथि पनि व्यङ्ग्य गरेका छन्। “आफ्ना मतदातालाई धन्यवाद भन्न झापा जानु नपर्ने प्रधानमन्त्रीले? नमस्कारसम्म पनि भन्न नमिल्नलाई राष्ट्रपति सबैले मानेको पद हैन? बहुदलीय व्यवस्थामा आफूले प्रतिनिधित्व गर्ने दलको कार्यालयमा ५ मिनेट बस्नुहुन्न? संसदीय दलको बैठकमा आएर आफूलाई नेता चुन्ने सांसदलाई धन्यवाद भन्नुपर्दैन?”
“यो मेरो हैन, तपाईं हाम्रो साझा जिज्ञासा हो। प्रश्न गर्नु सबैको कर्तव्य हो, यस्तो कुरामा कसैले पनि बहकिनु हुन्न,” श्रेष्ठले थपेका छन्।
प्रधानमन्त्री शाहले सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा करिब ५६ मिनेटमै उठेर सदन छाडेका थिए। त्यसपछि प्रतिनिधिसभाको बैठकमा धन्यवाद प्रस्ताव टेबल गर्न मात्र उपस्थित भएर पुनः बाहिरिएका थिए। उनको यस व्यवहारको विपक्षी दलहरूले मात्र नभई विभिन्न सञ्चारमाध्यम र बौद्धिक वृत्तले पनि आलोचना गरिरहेका छन्।
यता, प्रधानमन्त्री निकट स्रोत भने शाहको प्राथमिकता ‘संसदीय नाटक’ भन्दा ‘जनताले अनुमोदन गरेको वाचा पूरा गर्नु’ रहेको बताउँछ। तर, संसदीय मर्यादा र सरकार प्रमुखको जिम्मेवारीबीचको यो बहसले आगामी दिनमा थप तरङ्ग ल्याउने निश्चित छ।





