२८ बैशाख २०८३, सोमबार

दक्षिण कोरियामा बेरोजगारी दाबी लगातार तेस्रो महिना घट्यो, निर्माण क्षेत्रमा मन्दी

सियोल । दक्षिण कोरियामा निर्माण उद्योगको कमजोर मागका कारण बेरोजगारी भत्ताका लागि नयाँ आवेदन लगातार तेस्रो महिना घटेको सरकारी तथ्याङ्कले देखाएको छ। रोजगार तथा श्रम मन्त्रालयका अनुसार रोजगार खोज भत्ताका लागि नयाँ आवेदकको सङ्ख्या अप्रिलमा अघिल्लो वर्षको तुलनामा २ हजार ८०० अर्थात् २.७ प्रतिशतले घटेर १ लाख पुगेको छ। यो फेब्रुअरीदेखि नै घट्दो प्रवृत्तिमा रहेको छ।

भत्ताका लागि आवेदकको सङ्ख्या निर्माण, वित्त तथा बीमा, थोक तथा खुद्रा र सार्वजनिक प्रशासन उद्योगमा घटेको छ भने यातायात तथा गोदाम, स्वास्थ्य तथा सामाजिक कल्याण, शिक्षा सेवा र उत्पादन क्षेत्रमा बढेको छ। बेरोजगारलाई रोजगार खोज्न मद्दत गर्न सरकारले उपलब्ध गराउने यो भत्ता राज्य रोजगार बीमा कोषबाट वित्तपोषित हुन्छ। अप्रिलमा भत्ता पाउनेको सङ्ख्या अघिल्लो वर्षको तुलनामा ४.९ प्रतिशतले घटेर ६ लाख ६७ हजारमा झरेको छ भने रोजगार खोज भत्ताको कुल भुक्तानी ४.१ प्रतिशतले घटेर १.११ ट्रिलियन वन (७५ करोड ३४ लाख अमेरिकी डलर) मा सीमित भएको छ।

यता, दक्षिण कोरियाको निर्यात मेको पहिलो १० दिनमा दोहोरो अङ्कले बढेको छ। भन्सार कार्यालयको तथ्याङ्क अनुसार मे १ देखि १० सम्मको अवधिमा कुल आउटबाउन्ड ढुवानी १८.४३ अर्ब अमेरिकी डलर पुगेको छ, जो गत वर्षको सोही अवधिको तुलनामा ४३.७ प्रतिशतले बढी हो। यसले सन् २०२४ मा कायम भएको १६.८ अर्ब डलरको कीर्तिमानलाई उछिनेको छ। स्वदेशी अर्धचालकको मागमा आएको उछालले निर्यात वृद्धिमा मुख्य भूमिका खेलेको जनाइएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button