२९ बैशाख २०८३, मंगलवार

सहमहामन्त्रीकै व्यवहारले धनगढी भेला फितलो, थापाको पहिलो सुदूरपश्चिम भ्रमणमै कांग्रेसभित्रको खटपट सतहमा

धनगढी । नेपाली कांग्रेसको प्रदेश तथा स्थानीय तह केन्द्रित भेला सहमहामन्त्री प्रकाश स्नेहीको असहिष्णु व्यवहारका कारण फितलो बनेको छ। स्नेहीकै रवैयालाई कारण देखाउँदै प्रदेश सभापति वीरबहादुर बलायर, एनपी साउद, गोविन्दबहादुर शाह, रामजनम चौधरी, रणबहादुर रावललगायत पुराना र जिम्मेवार नेताहरू शनिबारको भेलामा अनुपस्थित रहेको कांग्रेसभित्र चर्चा छ।

बलायरले एकपटक सभापति गगन थापासँग कुरा गराएपछि कार्यक्रम व्यवस्थापनमा सहयोग गर्ने वचन दिएको तर सो सन्देश स्नेहीले थापासम्म नपुर्याएको कार्यकर्ताहरू बताउँछन्। रणबहादुर रावल र रामजनम चौधरीले टीकापुरमा भेटेर कुरा गरौं भन्ने सन्देश पठाउँदा स्नेहीले ‘मैले किन भेट्ने, यहाँ विशेष महाधिवेशन पक्षधरहरूले भेट्छन् नि’ भन्ने धारणा राखेको एक कांग्रेस नेताले बताए। स्नेहीलाई प्रदेश भेलाको समन्वयको जिम्मेवारी दिइएको थियो।

यता, डडेल्धुराबाट गत चुनावमा प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका पूर्व केन्द्रीय सदस्य नैनसिंह महर र जिल्ला सभापति भीमबहादुर साउदले भने सभापति थापासँग मिलेर काम गर्ने प्रतिबद्धता जनाएको बुझिएको छ। सुदूरपश्चिममा रहँदा सभापतिको सम्पर्कमा आएकामध्ये केहीलाई केन्द्रीय सदस्यमा मनोनयन गर्ने योजना रहेको थापा निकटस्थहरूले बताएका छन्।

औपचारिक कार्यक्रममा सभापति थापाले आलोचनालाई सहर्ष स्वीकार गर्ने तर पार्टी काममा सहभागी नहुने जोकोहीलाई कारबाही गर्ने चेतावनी दिए। उनले कांग्रेसमा एमाले, नेकपालगायत दलका व्यक्तिहरू सदस्य रहेको र त्यस्ताको सदस्यता अद्यावधिक गर्न आवश्यक रहेको उल्लेख गरे। ‘सदस्यता अद्यावधिक नगर्नु नै चुनाव हार्नुको कारण हो’ भन्ने थापाको बुझाइ रहेको एक नेताले जानकारी दिए। कैलालीका नारायणदत्त भट्ट र कञ्चनपुरका पदम बोगटीले सदस्यता अद्यावधिकमा सहयोग नगरेको चर्चा छ। भट्ट देउवा निकट भएकाले भेलामा उपस्थित नभएको र बोगटी एनपी साउद निकट रहेको बताइन्छ।

रोचक पक्ष के छ भने सभापति भएपछि पहिलो पटक धनगढी पुगेका थापालाई लगाइएको माला व्यवस्थापन गर्ने काम सहमहामन्त्री स्नेहीले गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ। पहिले डा. आरजू देउवा निकट देखिने शैली यसपटक लम्कीचुहा नगरपालिकाकी मेयर सुशीला शाहीले पनि दोहोर्याइन्। पहिले आरजू र उनका भतिज प्रदेशसभा सदस्य प्रकाश देउवा निकट रहेकी शाही अहिले एकाएक गगन थापा नजिक देखिएकी छन्।

मुख्यमन्त्री कमलबहादुर शाहले मञ्चमै बसेर थापासँग केही प्रश्नसमेत गरेका थिए। प्रदेशको राजनीतिक वृत्तमा मुख्यमन्त्री शाह र मेयर शाहीबीच पछिल्लो समय सार्वजनिक रूपमा मतभेद देखिँदै आएको छ। कांग्रेसभित्र देउवा पक्षले धेरै लाभ लिएको तर मुख्यमन्त्री शाहले मात्र अन्तिमसम्म पक्षधरतामा अडिग रहेको भन्दै प्रशंसा भइरहेको छ। यद्यपि शाहले आगामी १० वर्ष गगन थापा नै सभापति रहने बताएका थिए।

धनगढी भेलामा जिल्ला सचिव केशव मिश्रको अस्वाभाविक सक्रियतालाई धेरैले असहज रूपमा लिएका थिए भने त्यो क्रम प्रदेश सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्कामा पनि लागू भएको थियो।

यसैबीच, सभापति थापा र उपसभापति विश्वप्रकाश शर्मासँग भेटेर अछामका नेताहरूले पार्टी सुधारका सुझाव दिएका छन्। प्रदेश समिति सदस्य वेदप्रकाश तिमिल्सेनाले प्रदेशमा समन्वय गर्न सक्ने व्यक्तिलाई जिम्मेवारी दिनुपर्ने बताउँदै अछामलाई कैलाली र कञ्चनपुरमुक्त राजनीतिक प्रभावबाट बाहिर निकाल्नुपर्ने धारणा राखे। उनले अछामबाट हालसम्म सीमित मात्र केन्द्रीय सदस्य बनेको इतिहास पनि स्मरण गराए।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button