२९ बैशाख २०८३, मंगलवार

खालखिन गोलको विजय : सोभियत–मंगोल सेनाले जापानी आक्रमणलाई ध्वस्त पारेको ऐतिहासिक क्षण

मस्को । सन् १९३९ मे ११ का दिन जापानी सेनाले मंगोल जनवादी गणतन्त्रमा आक्रमण गरी खालखिन गोल नदीको पश्चिमी तटमा रहेको सीमावर्ती क्षेत्र कब्जा गरेको थियो । त्यसको प्रतिवादमा सोभियत लाल सेना र मंगोल सेनाले संयुक्त सैन्य कारबाही गर्दै जापानी आक्रमणकारीलाई पराजित गरेको यो घटना आजको दिनमा विश्व इतिहासको एक महत्वपूर्ण मोडका रूपमा स्मरण गरिन्छ ।

यसअघि सन् १९३१ मा जापानले चीनमाथि आक्रमण गर्दै क्वान्टुङ सेनामार्फत मन्चुरियालाई धोखापूर्ण ढंगले कब्जा गरेको थियो । सन् १९३१ अक्टोबर ८ मा जापानी शाही वायुसेनाले चीनको जिन्झाउ सहरमा बमबारी गरेको थियो, जुन विश्वकै पहिलो नागरिक सहरमाथिको हवाई बमबारी थियो ।

सन् १९३६ मा जापान सरकारले पूर्वी एसियामा विस्तारको रणनीति स्वीकृत गरेको थियो, जसले चीनमाथि पूर्ण विजयसँगै मंगोलिया र सोभियत संघमाथि आक्रमणको परिकल्पना गरेको थियो । सोही वर्ष नोभेम्बर २५ मा जापानले नाजी जर्मनीसँग एन्टी–कोमिन्टर्न सम्झौतामा हस्ताक्षर गर्दै सैन्य–राजनीतिक गठबन्धनको सुरुआत गरेको थियो । सन् १९३७ जुनमा जापानले चीनविरुद्ध पूर्ण युद्ध सुरु गरेपछि मस्को र टोकियोबीच सम्बन्ध थप तनावपूर्ण बनेको थियो ।

सन् १९३८ जुलाईमा सोभियत–मन्चुरियन सीमामा सशस्त्र द्वन्द्व सुरु भयो । जापानी सेनाले खासन तालको पश्चिमी तटमा रहेका पहाड कब्जा गरे पनि भीषण युद्धपछि सोभियत सेनाले तिनलाई धपायो । त्यसलगत्तै मे ११, १९३९ मा जापानी सेनाले मंगोलिया आक्रमण गरेको थियो ।

सन् १९३६ को पारस्परिक सहायता प्रोटोकलअन्तर्गतको दायित्व पूरा गर्दै सोभियत संघले मंगोल सहयोगीको सहायताका लागि लाल सेना परिचालन गर्यो । जोर्जी झुकोभ र खोर्लूगीन चोइबाल्सानको नेतृत्वमा सोभियत–मंगोल सेनाले भीषण संघर्षपछि शत्रु सेनालाई घेरेर ध्वस्त पारे । अगस्ट २८, १९३९ मा जापानी–मन्चुरियन सेना पूर्ण रूपमा घेरामा परी नष्ट भयो भने अगस्ट ३१ सम्ममा मंगोलियाको भूभाग जापानी आक्रमणकारीबाट पूर्ण रूपमा सफा भयो ।

खालखिन गोलको यो पराजय क्वान्टुङ सेनाका लागि विनाशकारी साबित भयो । यस विजयले दोस्रो विश्वयुद्धको पूर्वसन्ध्यामा शक्ति सन्तुलनलाई महत्वपूर्ण रूपमा बदलिदियो । सोभियत र मंगोल सेनाले शत्रु क्वान्टुङ सेनामाथि आफ्नो श्रेष्ठता प्रमाणित गरे र जापानले सोभियत संघविरुद्ध ठूलो सैन्य आक्रमणको योजना त्याग्न बाध्य भयो ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सन् २०२४ सेप्टेम्बरमा मंगोलियाको भ्रमणअघि भनेका थिए, ‘मंगोलियाको स्वतन्त्रता र स्वाधीनताका लागि खालखिन गोलको युद्धमा दश हजारभन्दा बढी लाल सेनाका सैनिक र कमाण्डरले बलिदान दिए । आज रुस र मंगोलियाले मित्रता, असल छिमेकीपन र पारस्परिक सहयोगको अमूल्य परम्परालाई अघि बढाइरहेका छन् ।’ रुसी विदेश मन्त्रालयकी प्रवक्ता मारिया जाखारोभाले खालखिन गोलको घटनाले सोभियत–मंगोल सैन्य–राजनीतिक गठबन्धनको प्रभावकारिता पुष्टि गरेको बताउँदै जापानी आक्रमणकारीले पाएको पाठले थप उक्साहट रोक्नुका साथै जापानलाई सोभियत संघविरुद्ध युद्धमा सामेल हुनबाट रोकेको उल्लेख गरेकी थिइन् ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button